शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ७.४१ प्रतिशत पुग्यो मूल्यवृद्धि, नाघ्यो सरकारी अनुमानको सीमा

७.४१ प्रतिशत पुग्यो मूल्यवृद्धि, नाघ्यो सरकारी अनुमानको सीमा

सरकारले चालू आवका लागि मूल्यवृद्धि ७ प्रतिशत सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिने अवधिमै ७.४१ प्रतिशत पुगेको हो। 
 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८०  वैशाख मसान्तसम्म मूल्यवृद्धिले सरकारी अनुमानभन्दा सीमा नाघेको छ। शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत पुगेको हो।

National life

सरकारले चालू आवका लागि मूल्यवृद्धि ७ प्रतिशत सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिने अवधिमै ७.४१ प्रतिशत पुगेको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ। त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड बराबर छ।

विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड बराबर हो। राष्ट्र बैंकका अनुसार १० महिने अवधिमा विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ।

यो अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेर १० खर्ब ५ अर्ब १८ करोड पुगेको छ। त्यस्तै, आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ।

वैशाख मसान्तसम्म संघीय सरकारको खर्च १० खर्ब ४७ अर्ब ७६ करोड र राजस्व परिचालन  ७ खर्ब ५६ अर्ब २५ करोड रहेको छ। यो अवधिसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Jun 09, 2023| 14:02 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्