शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले चालू आवमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने देखिएको हो। 
 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं– मुख्य दातृ निकाय विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ। विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो। प्रतिवेदनअनुसार आगामी आवमा नेपालको वृद्धिदर ४.९ प्रतिशत पुग्नेछ। 

दक्षिण एसियाली मुलुकमध्ये चालू आवमा सबैभन्दा धेरै भारतले ७.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण छ। त्यसपछि माल्दिभ्सले ६.६ प्रतिशत, बंगलादेशले ५.२ प्रतिशत, भुटानले ४.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ। पाकिस्तानको अत्यन्त न्यून ०.४ प्रतिशत वृद्धिदर हुँदा श्रीलंकाको वृद्धिदर ४.३ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण गरिएको छ।

प्रतिवेदनमा विश्वका विकसित देशले मौद्रिक नीतिमा लिएको कडाइले दक्षिण एसियाली मुलुक प्रभावित भए पनि सन् २०२२ को दोस्रो त्रैमासपछि त्यसको प्रभाव विस्तारै कम भएको उल्लेख छ। 

श्रीलंका, पाकिस्तान र अफगानिस्तानले गहिरो आन्तरिक संकट बेहोर्नुपरेको प्रतिवेदनले उल्लेख गरेको छ। आयातका लागि विदेशी मुद्रा सञ्चितिको अपर्याप्तताजस्ता संकट दक्षिण एसियाली मुलुकले भोग्नुपरेको विश्व बैंकले औंल्याएको छ। 

प्रतिवेदनले समग्रमा दक्षिण एसियाली क्षेत्रको वृद्धिदर सन् २०२३ मा औसतमा ५.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। सन् २०२४ मा यस्तो वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण छ।

प्रकाशित: Jun 08, 2023| 11:47 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्