NadaNada
आइतबार, भदौ ८, २०८२

अब ३० मिनेटको दूरीमै भेटिनेछन् झोलुंगे पुल

हाल एक घन्टाको दूरीमा झोलुंगे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई बदलेर आधा घन्टामा झारिएको हो।
 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

काठमाडौं– अब ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घन्टाभन्दा बढी हिँड्न नपर्ने भएको छ। सरकारको हाल एक घन्टाको दूरीमा झोलुंगे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घन्टा बनाउन लागिएको हो।

दुर्गम क्षेत्रका नागरिकलाई आवागमनमा समस्या हुने भएपछि गोरेटो बाटोबाट एक घन्टा हिँडेर जानुपर्ने अवस्था अन्त्य होस् भनेर आधा घन्टाको दूरीमा झोलुंगे पुल निर्माण गर्ने रणनीति बनाउन लागिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ।

कम्तीमा एक किमि दूरी कायम गर्दा हालको लक्ष्य हासिल भए पनि आधा घन्टा कायम हुँदा देशभरमा माग बढ्ने विभागका उपमहानिर्देशक अशोककुमार साहले बताए। स्थानीय तहबाट माग भएअनुसार सरकार आफैंले वा स्थानीय तहमार्फत पुल निर्माण गरिने उनको भनाइ छ।

‘पुल बनाउँदा समन्वय हुनुपर्छ। नयाँ रणनीतिअनुसार झोलुंगे पुल सम्पन्न गर्नलाई अबको १०/१५ वर्ष लाग्न सक्छ’, उपमहानिर्देशक साहले भने। उनका अनुसार पहिले एउटा पुल वा झोलुंगे पुलबाट अर्काेमा जान कम्तीमा एक घन्टाको दूरी राखिएको थियो।

अब बन्न लागेको रणनीति पास भएर कार्यान्वयनमा जाँदा पुलको सङ्ख्या बढ्ने उपमहानिर्देशक साहले बताए। उनले भने, ‘अहिले एउटा खोलामा १० पुल छन् भने नयाँ रणनीतिअनुसार १४ हुनसक्छ । अहिलेसम्म यातायातको प्रयोजनका लागि मात्रै पुल बनाइने गरेकामा अब पर्यटन वा अरु प्रयोजनका लागि बनाइनेछ।’

Metro Mart

विगतमा ठाउँ–ठाउँमा रहेका तुइन हटाइएको उपमहानिर्देशक साहले जानकारी दिए। सरकारले अहिले दुर्गम पहाडी जिल्लालाई प्राथमिकता दिएर पुल निर्माण गरिरहेको उनले बताए। साहका अनुसार संघीय सरकारले ससर्त अनुदानमा पैसा दिएपछि गाउँपालिकाले झोलुंगे पुल बनाउने गरेका छन्। 

लम्बाइका आधारमा छोटा पुल स्थानीय तहले, मध्यम लम्बाइका पुल प्रदेश सरकारले निर्माण गरिरहेका छन्। संघीय सरकारले लम्बाइका आधारमा लामा र नयाँ प्रविधिका झोलुंगे पुल निर्माण गर्दै आएको छ।

उपमहानिर्देशक साहका अनुसार सबै झोलुंगे पुलका लागि आवश्यक लठ्ठा भने विभागले नै उपलब्ध गराउँदै आएको छ। सरकारले चालू आर्थिक वर्षमा झन्डै ६०० पुल सम्पन्न गर्ने भएको छ भने आगामी वर्ष ६०० पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ। हालसम्म देशभरमा १० हजार पुल निर्माण भएको विभागले जनाएको छ।

प्रकाशित: Jun 07, 2023| 14:55 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्