विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिवेदन अनुसार प्रदूषित हावाका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ। विगत ३० वर्षमा वायु प्रदूषणका कारण स्वास्थ्यमा धेरै घातक असर देखिएको छ। वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परिरहेका छन्।
प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन्। जसले मानिस, जनावर र वनस्पतिमा हानिकारक प्रभाव पार्छ।
चिकित्सकहरुका अनुसार वायु प्रदूषणले मानव शरीरको हरेक अंगमा असर गर्छ। सबैभन्दा पहिले त श्वासप्रश्वास प्रणालीका अंगहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्छ, जसले निमोनिया, दम र फोक्सोको क्यान्सर जस्ता समस्या निम्तिन सक्छ।
प्रदूषणको कारण तत्कालीन रूपमा नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, आँखामा संक्रमण हुने, छाला सुख्खा हुने र फोक्सोको इन्फेक्सन जस्ता समस्या देखा पर्छ। वायुमण्डलमा भएको ग्यास र मसिनो धुलोका कण श्वासप्रश्वास नली फोक्सो हुँदै रक्तसञ्चार प्रणालीसम्म पुग्छ। रक्तसञ्चार प्रणाली हुँदै शरीरको हरेक अंगमा पुगेर दीर्घकालीन रूपमा मुटुमा पुगेर मुटुको चाल बढ्ने, हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्छ।
गर्भवती महिला वायु प्रदूषणको सम्पर्कमा आएमा कम तौलको बच्चा जन्मिने तथा बच्चामा दमरोग समेत देखिन सक्छ। धेरै वायु प्रदूषण हुने ठाउँमा बस्ने मानिसको झण्डै चार वर्ष आयु घट्ने विभिन्न अध्ययनले देखाएको छ।
हावामा भएको मसिना धुलोको कणले रक्तनलीहरूलाई साँघुरो र कडा बनाएर क्षति पुर्याउँछ, जसले शरीरमा रगत स्वतन्त्र रूपमा प्रवाह हुन पाउँदैन। रगत जम्ने सम्भावना बढी हुन्छ। साथै मुटुले रगत पम्प गरेर शरीरका अन्य भागमा पर्याप्त मात्रामा रगत नपाएका कारण रक्तचाप बढ्छ, मुटुको मांसपेशीमा दबाब बढ्छ र मुटुको चाल गडबड हुन्छ। हृदयघात र मुटुरोगको जोखिम पनि बढ्छ।
प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयघात, मस्तिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउँछ। वायु प्रदूषणले शरीरको हरेक अंगमा असर गरेजस्तै मस्तिष्कमा पनि प्रत्यक्ष रूपमा असर गर्छ। प्रदूषणले धमनीहरूलाई कडा बनाउँछ, जसले रगत जम्ने हुन्छ। रगत राम्रोसँग मस्तिष्कमा सञ्चालन हुन नपाउँदा मस्तिष्कघात हुने सम्भावना हुन्छ। प्रदूषणले तनाव पनि बढाउने र तनाव बढिरहेमा स्ट्रोक हुने सम्भावना हुन्छ।
प्रदूषित हावाले आँखामा एलर्जी गराउने, आँखा सुख्खा हुने, पोल्नेजस्ता समस्या देखिन्छ। प्रदूषणले आँखाको एलर्जी समेत हुन्छ। उडिरहेको धुलो आँखाको परेलीमा जमेर बस्ने र त्यसबाट संक्रमण हुने खतरा हुन्छ।
प्रदूषणले छालामा पनि असर गर्छ। प्रदूषणले छालाको सतह, रौं, छालाको ग्रन्थि र भित्री तहलाई पनि असर गर्छ, जसले छालामा डण्डीफोर, छालाको इन्फेक्सन, छाला जल्ने, दाग धब्बा, चाउरीपन, छाला झोल्लिने, समयभन्दा अगावै बूढो देखिने र छालाको क्यान्सरजस्ता समस्या निम्त्याउन सक्छ।
वायु प्रदूषणको जोखिमबाट बच्ने उपाय
- बाहिर हिँडडुल गर्दा मास्क लगाउने
- पूरा शरीर ढाक्ने खालका कपडा लगाएर हिँड्ने
- बाहिर हिँड्दा छाता, क्यापको प्रयोग गर्ने
- पुराना सवारीसाधन हटाउने र नयाँ सवारीसाधनको चेकजाँच गरेर अनुमति प्राप्त सवारी साधनमात्र सञ्चालनमा ल्याउने
- ढल निकासको उचित व्यवस्था गर्ने
- इन्धनको रूपमा गोबर ग्यास, विद्युत र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने