मंगलबार, भदौ १०, २०८२

झाडापखला र हैजाका बिरामीको निःशुल्क उपचारको प्रबन्ध मिलाउन मन्त्री पौडेलको निर्देशन

 |  सोमबार, भदौ ९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ९, २०८२

vianetvianet

वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई निःशुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

Kumaribank

वीरगञ्ज आसपासमा झाडापखला र हैजाको सङ्क्रमण देखिएपछि निरीक्षण गर्न भएका मन्त्री पौडेलले अस्पतालले बिरामीको उचित ढङ्गले उपचार गर्नुपर्ने बताएका हुन्। 'नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने कुनै पनि बिरामीले जुनसुकै औषधि निःशुल्क पाउने गरी व्यवस्थापन गर्न आग्रह छ', उनले भने, 'विश्व स्वास्थ्य सङ्गठनको पोर्टाेकलले भ्याउने खालको औषधिले पुग्ने भए ठीकै छ। नत्र भने परिस्थितिवस थप औषधि दिनुपर्ने छ भने पनि ती औषधि निःशुल्क उपलब्ध गराउन र आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासनलाई निर्देश गर्दछु।’

मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीसँग त्यहाँको सेवा र गुनासाबारे जानकारी लिएका छन्। ‘बिरामीसँग कुरा गर्दा केही औषधि किन्नुपरेको गुनासो सुन्नुपर्‍यो। त्यसैले अबदेखि कुनै औषधि किन्न नपर्ने खालको व्यवस्था मिलाउनुहोला', उनले भने, 'झाडापखला र हैजाको परीक्षण गर्दा कुनै प्रकारको शुल्क नलिनको मेरो आग्रह छ।'

मन्त्री पौडेलले तीनै तहका सरकारसँग समन्वय गरेर कुनै पनि हालतमा औषधिको  कमी हुन नदिने बताए। ‘कुनै पनि हालतमा औषधिको अभाव हुने छैन। जनशक्तिको अभाव हुने छैन। अहिले नारायणी अस्पतालमा बारा र रौतहटका प्रादेशिक अस्पतालबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोली आइरहेको छ। त्यसैगरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउने कुरा भइरहेको छ,' उनले भने।

मन्त्री पौडेलले थप जनशक्ति र सहायता चाहिएको खण्डमा सङ्घीय सरकारले तत्कालै चिकित्सकसहितको जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले वीरगञ्जका  निजी अस्पताललाई झाडापखला र हैजाका बिरामीलाई सहज र सुलभ मूल्यमा औषधि उपचारमा सहयोगका लागि आग्रह गरे। 

Metro Mart

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले नारायणी अस्पताललाई प्रदेश सरकारले विभिन्न थरिका औषधि उपलब्ध गराउँदै आइरहेको जानकारी दिए। उनले समस्या परेका बेला मात्र तात्ने नभइ जुनसुकै बेला समस्या आउनसक्छ भन्ने सोचेर दीर्घकालीन योजनासहित काम गर्न अस्पताल प्रशासनलाई आग्रह गरे। 

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा झाडापखला र हैजाको समस्या देखिएकाले समस्या समाधान गर्नका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए। उनले एकद्वार प्रणालीबाट उपचार र औषधि वितरण गर्नुपर्नेमा जोड दिए। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले निश्चित मापदण्डको ‘चेकलिस्ट’सहित हैजाको मुख्य कारण पत्ता लगाउने कार्य भइरहेको बताए। पाँच वटा कलष्टरमा आधारित भएर आवश्यक काम भइरहेको उनले जानकारी गराए। 

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डडेन्ट (मेसु) चुमनलाल दासले  अस्पतालमा हाल ४८ जना झाडापखला र हैजाका बिरामीको उपचार भइरहेको जानकारी दिए। तीमध्ये दुई जनाको आकस्मिक कक्षमा र अन्यको तीन वटा वार्डमा उपचार भइरहेको उनले बताए।

मेसु दासका अनुसार हाल यहाँ प्रादेशिक अस्पताल गौर र कलैयाँबाट चिकित्सकसहितको टोली आएर उपचार सेवा दिइरहेका छन्। यस्तै, वीरगञ्ज नर्सिङ कलेजका बिएस्सी नर्सिङ अध्ययनरत विद्यार्थी र वीरगञ्ज महानगरबाट स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी आएर आवश्यक सहजीकरण गरिरहेका छन्। 

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले झाडापखला र हैजाका गरी दुई सय ५४ जना बिरामीको सङ्ख्या दर्ता भएको बताए। 'हालसम्म एक सय तीन जना बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा उपचारत रहेका छन्। २२ जना सघन उपचार कक्ष (आइसियु) र छ जना बिरामी ‘एचसियु’मा उपचाररत छन्', उनले भने, 'बाँकी रहेका बिरामी जनरल वार्डमा छन्। आइसियुमा रहेका २२ मध्ये २० जना निजी अस्पताल र दुई जना नारायणी अस्पतालमा छन्।'

यहाँ हालसम्म एक सय २४ जना बिरामी उपचार गरेर घर फर्किसकेका छन्।

प्रकाशित: Aug 25, 2025| 19:20 सोमबार, भदौ ९, २०८२
प्रतिक्रिया दिनुहोस्