शुक्रबार, जेठ १, २०८३

यस वर्ष ठडिँदै ६०० झोलुंगे पुल

एक दिनमा दुईटा झोलुंगे पुल बनाउने योजनाअनुसार ७३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण केही कम संख्यामा सम्पन्न हुन लागेको हो। 
 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं– यस वर्ष देशभर झन्डै ६०० झोलुंगुे पुल निर्माण गरिने भएको छ। एक दिनमा दुईटा झोलुंगे पुल बनाउने योजनाअनुसार ७३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण केही कम संख्यामा सम्पन्न हुन लागेको हो।

National life

पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ठेक्का आह्वान गर्न नसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। दुई वर्ष पहिले र गत वर्ष सुरु भएका पुल निर्माण सम्पन्न गर्न लागिएको छ। पुल निर्माण तीनै तहबाट हुने भए पनि छुट्टाछुट्टै नभएर आपसी समन्वयमा हुने गरेको विभागको भनाइ छ। 

‘स्थानीय तहले साना, प्रदेशले मध्य र संघीय सरकारले लामा पुल निर्माण गर्दै आएको छ’, विभागका उपमहानिर्देशक अशोककुमार साहले  भने, ‘संघले ठूला तथा दुईटा डाँडा जोड्ने वा प्राविधिक रुपमा कठिन र धेरै स्पान चाहिने पुल बनाउने गर्छ।’ एउटा पुल बनिसक्न कम्तीमा दुईदेखि तीन वर्ष लाग्छ।

कुनै योजनामा बजेट परेपछि पहिलो वर्ष त्यसको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन गरिने र खरिद प्रक्रिया सुरु हुने उनले बताए। पुल सानो भएमा खरिद प्रक्रियामा गएको एक वर्षमै र ठूलो भएमा दुई वर्षमै सम्पन्न गरिनेछ। यस वर्ष ग्रामीण क्षेत्रमा बढी झोलुङ्गे पुल निर्माण गर्ने योजना छ। खासगरी कर्णालीको, सुदूर पश्चिम क्षेत्रमा बढी जोड रहेको उपमहानिर्देशक साहको भनाइ थियो। 

गत वर्षसम्म विभागले देशभरका तुइन विस्थापित गर्न प्राथमिकता दिएको थियो। अब तुइन हटाउन झोलुंगे पुल बनाउनुपर्ने भएको उनले जानकारी दिए। 
उपमहानिर्देशक साहले भने, ‘पहिले पहिचान भएका सबै तुइनका ठाउँमा झोलुंगे पुल बनाइसकिएको छ।’

विभागले खासगरी ग्रामीण भेगका नागरिकलाई नदी वारपार गर्न सजिलो होस् भनी पुल निर्माण गर्दै आएको छ। झोलुंगे पुल बनेको केही वर्षभित्रै सडक पुल बन्ने ठाउँभन्दा पनि अझै केही वर्ष नबन्ने देखिएको स्थानलाई प्राथमिकतामा राखिएको विभागले बताउँदै आएको छ। 

चार/पाँच वर्षमै त्यहाँ मोटर गुड्ने पुल बनाइने स्थानमा झोलुंगे पुलको औचित्य नभएको उपमहानिर्देशक साहले बताए। चालू आव र आगामी आवमा पनि अब तराईमा झोलुंगे पुलको योजना कम रहेको छ। काठमाडौँ उपत्यकामा भने त्यस्तो योजनै छैन।

प्रकाशित: Jun 05, 2023| 14:47 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्