मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मुग्लिन–पोखरा सडक विस्तार: डुम्रे बजारका घर भत्काइँदै

मुग्लिन–पोखरा सडक विस्तार: डुम्रे बजारका घर भत्काइँदै

डुम्रे बजारमा बनेका सडक मापदण्डविपरीत घरटहरा भत्काउन सुरु गरिएको हो।
 |  सोमबार, जेठ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

vianetvianet

तनहुँ– पृथ्वी राजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ। डुम्रे बजारमा बनेका सडक मापदण्डविपरीत घरटहरा भत्काउन सुरु गरिएको हो।

Kumaribank

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका ५ घर भत्काउने काम भइरहेको छ। डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो। डुम्रे बजार लमजुङको प्रवेशद्वार पनि हो। 

‘डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, अहिलेसम्म ५ घर भत्काइएको छ’, उनले भने, ‘सडक मापदण्डभित्र रहेका सबै संरचना विस्तारै हटाइन्छ।’

डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन्। त्यस्ता घरटहरालाई मुआब्जा दिएर भत्काइने योजनाले जनाएको छ। पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका पर्दछन्। आँबुखैरेनी र व्यास नगरपालिका क्षेत्रभित्रका घरटहरा पनि हटाउने तयारी भइरहेको छ। 

उनका अनुसार यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ। यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ। उनले भने, ‘घरटहरा भत्काउन ८३ जनालाई पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको छ, पहिलो किस्ता प्राप्तिका लागि अन्यको निवेदन परे पनि बजेट अभावका कारण दिन सकेका छैनौँ,’ अपुग रकम असार मसान्तसम्म निकासा भए लाभग्राहीलाई वितरण गर्न सकिनेछ।’ 

Metro Mart

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। 

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ। चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक खण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।

पूर्वी खण्डको कामका लागि १७ माघ २०७७ मा सम्झौता भई २ वैशाख २०७८ मा काम सुरु भएको थियो। ४१ दशमलव ४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। 

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ वैशाखसम्म रहेको छ। सरकारले मुग्लिन– पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा ५ अर्ब ४२ करोड विनियोजन गरेको छ।

२०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ।

डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

प्रकाशित: Jun 05, 2023| 12:05 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार