शुक्रबार, जेठ १, २०८३

मदिरा उत्पादक र विक्रेताको लाइसेन्स दस्तुर बढ्यो

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ।

National life

आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मदिरा उत्पादन गर्ने प्रतिष्ठानको लाइसेन्स र नवीकरण दस्तुर ५५ हजारले बढेको हो।

यसअघि यस्तो शुल्क १ लाख ९५ हजार बराबर रहेकामा त्यसलाई बढाएर २ लाख ५० हजार पुर्‍याइएको छ। वाइन, ब्रान्डीजस्ता फलफूलमा आधारित मदिरा बनाउने प्रतिष्ठानको लाइसेन्स र नवीकरण शुल्क ४ हजारले बढाएर १ लाख पुर्याइएको छ। चुरोट उत्पादन गर्ने प्रतिष्ठानलाई २ लाख ४० हजार इजाजत तथा नवीकरण दस्तुर लाग्दै आएकामा त्यस्तो शुल्क ३ लाख पुगेको छ।

मदिरा बिक्री–वितरणका लागि होटल, रेस्टुराँ, रिसोर्ट, बारले लिने इजाजत तथा नवीकरण दस्तुर पनि बढेको छ। यस्तो शुल्क यसअघि पाँचतारे होटललाई ६० हजार रहेकामा ७५ हजार, चारतारे होटललाई ४८ हजार रहेकामा ६० हजार र तीनतारे होटललाई ३६ हजार रहेकामा ४५ हजार बनाइएको छ। दुईतारेलाई २४ हजार रहेकामा ३० हजार र एकतारेलाई १२ हजार रहेकामा १५ हजार पुर्‍याइएको छ।

स्वदेशी तथा विदेशी मदिरा बेच्ने पर्यटक स्तरका रेस्टुरेन्ट, रिसोर्ट तथा पार्टी प्यालेसले इजाजत तथा नवीकरणका लागि ८ हजार ५ सय तिर्दै आएका थिए। अहिले बढाएर ११ हजार पुगेको छ। साधारण होटल, रेस्टुरेन्ट, बार तथा लजका लागि ४ हजार ५ सय बराबर शुल्क रहेकामा ६ हजार पुगेको छ।

मदिरा वितरकलाई यस्तो शुल्क ३६ हजार बराबर रहेकामा बढेर ४५ हजार पुगेको छ । त्यस्तै, मदिराको थोक बिक्रेतालाई २४ हजार दस्तुर लाग्ने गरेकामा ३० हजार पुगेको छ। मदिरा बिक्री गर्ने खुद्रा बिक्रेताको इजाजत लिन तथा त्यस्तो इजाजत नवीकरण गर्दा लाग्ने शुल्क पनि बढेको छ। यस्तो इजाजत तथा नवीकरणका लागि १२ हजार शुल्क लाग्ने गरेकामा अब १५ हजार शुल्क लाग्नेछ।

त्यस्तै, डिपार्टमेन्ट स्टोरले २४ हजार शुल्क तिर्दै आएकामा ३० हजार तिर्नुपर्नेछ। विदेशी मदिरा तथा स्प्रिट आयातकर्ताको अनुमति लिन तथा त्यस्तो अनुमतिपत्रको नवीकरणका लागि ४८ हजार शुल्क लाग्दै आएकामा ६० हजार पुगेको छ।

विदेशी चुरोट तथा सिगार, सुर्तीजन्य पदार्थ आयातकर्तालाई ४८ हजार बराबर शुल्क लाग्दै आएको थियो। त्यसलाई बढाएर ६० हजार तोकिएको छ। त्यस्तै, पान मसला, चुरोट, खैनी, जर्दा, नश, तथा सुर्तीजन्य वस्तुका थोक बिक्रेताको लाइसेन्स तथा नवीकरणका लागि ७ हजार २ सय लाग्दै आएकामा अब १२ हजार शुल्क लाग्नेछ।

यस्ता वस्तुको खुद्रा बिक्रेताका लागि २ हजार शुल्क लाग्दै आएकामा अब ३ हजार लाग्नेछ। पान मसला, खैनी, जर्दा, नश, चुरोटबाहेकका सूर्तीजन्य वस्तु उत्पादन गर्ने प्रतिष्ठानका लागि १ लाख २० हजार लाग्दै आएकामा अब २ लाख लाग्नेछ।

प्रकाशित: Jun 04, 2023| 09:37 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्