मंगलबार, भदौ १०, २०८२

काँकडभिट्टा सीमानाकामै भारु नोट सटहीमा सकस

भारु २ हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सीमानाकामा सटहीमा समस्या देखिन थालेको हो।
 |  शनिबार, जेठ २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

vianetvianet

झापा– भारतसँग सीमा जोडिएको पूर्वी नाका काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ। भारु २ हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो।

Kumaribank

एक साताअघि भारतको केन्द्रीय बैंकले भारु २ हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो। त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन्।

पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी एक्सचेन्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको बताए। उनले भारु १ लाख सटही गर्दा ४ हजार कमिसन दिनुपरेको दाबी गरे। 

काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दूरीको यातायात सेवा प्रदान गर्दै आएका भाडाका बस, माइक्रो तथा साना गाडीमा ‘भाडा तिर्दा भारु नोट नदिनुहोला’ भन्ने सूचना टाँस्न सुरु भइसकेको उनले जानकारी दिए। स्थानीय पेट्रोल पम्पमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको छ।

काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, केचना, बाहुनडाँगीलगायत सीमानाका र बजारमा विगतमा जस्तो भारुमा लेनदेन अब हुन छाडेको छ। नेपाली व्यवसायीले सेवा तथा वस्तुको भुक्तानी लिँदा र दिँदा भारु नोट लिन छाडेका छन्। 

Metro Mart

भारतबाट लुकीछिपी ठूलो मात्रामा भारुका नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिक मन्दीको मारमा रहेको कारण बिक्री घट्दा बजारमा भारुको सटहीमा समस्या उत्पन्न भएको सटहीको अनुमति प्राप्त मनी एक्सचेन्जर व्यवसायी बताउँछन्।

मेची मनी एक्सचेन्जर व्यवसायी संघ अध्यक्ष विष्णु मैनालीले बजारमा भारु नोट छ्याप्छ्याप्ती भएको जनाउँदै सटहीका लागि व्यवसायीसँग पर्याप्त नेपाली रुपैयाँ नभएको बताए।

‘भारु सटही हुन छाडेको भन्ने हल्ला मैले पनि सुनेको छु। तथापि सटही नै बन्द भएको वा भारु चल्नै छाडेको भन्ने कुरा सत्य होइन’, संघ अध्यक्ष मैनालीले भने, ‘बोर्डरमा जोसँग पनि भारु नोट हुन्छ। नेपालमा व्यवसाय मन्दीका कारण ठप्पजस्तै छ। यस्तो बेला भारु किन्न आउने कोही छैनन्। भारु बेच्ने धेरै भए, किन्ने नहुँदा समस्या देखिएको मात्र हो।’

उनले काँकडभिट्टामै ३२ वटा अनुमतिप्राप्त मनी एक्सचेन्जर व्यवसायी भएको जनाउँदै नेपाल राष्ट्र बैंकले तोकेको सटही दरभन्दा तलमाथि गरेर कसैले पनि कारोबार गर्न नहुने बताए। आर्थिक मन्दीका कारण मनी एक्सचेन्जर व्यवसाय संकटबाट गुज्रिरहेको र कतिपय व्यवसायी पलायनको अवस्थामा पुगिसकेको अध्यक्ष मैनालीको भनाइ छ।

भारु नोट सटहीमा कठिनाइ हुँदा भारतमा रोजगार गरेर फर्कने नेपाली सीमा क्षेत्रमा सकसमा परेका छन्। भारतको सिलिगुडी, सिक्किम, मेघालय, मुम्बई, कोलकाता, केरला र चेन्नईमा रोजगारी गर्ने नेपाली काँकडभिट्टा नाका भएर स्वदेश फर्किने गर्छन्।

मेघालयबाट फर्केका दैलेख दुल्लुक किसनकुमार शाहीले एउटा होटलको सहयोगमा प्रतिहजार  ४० का दरले ‘बट्टा’ दिएर मनी एक्सचेन्जरबाट मुस्किलले भारु सटही गरेको बताए।

भारतको आसाम, पश्चिम बंगाल, सिक्किम र बिहारबाट झापाको आँखा अस्पतालमा ठूलो संख्यामा आउने भारतीयले उपचार खर्च भारुमै दिँदै आएका छन्। काँकडभिट्टा क्षेत्रमा क्यासिनो व्यवसायमार्फत पनि ठूलो मात्रामा भारु नोट नेपाल भित्रिने गरेको छ।

प्रकाशित: Jun 03, 2023| 11:26 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्