शुक्रबार, जेठ १, २०८३

दक्षिण अफ्रिका रोजगारीमा नठगिन विभागको आग्रह

विभागले आकर्षक सेवा–सुविधासहितको पदमा काम लगाइदिने भन्दै गिरोहले नक्कली वर्क परमिट बनाएर ठगी गरेको भेटिएकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो। 
 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ। 

National life

विभागले सूचना प्रकाशित गरी आकर्षक सेवासुविधासहितको पदमा काम लगाइदिने भन्दै  गिरोहले नक्कली वर्क परमिट बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो। 

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन।’

मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले १५० बढी व्यक्तिबाट लाखौँ रुपैयाँ संकलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यो गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको भेटिएको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए। 

पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने उनको भनाइ छ। उनका अनुसार दक्षिण अफ्रिकाले दक्ष जनशक्तिका लागि बाहिरी देशबाट श्रमिक ल्याउँदैन।

दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्त २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लैजाने कानुनी व्यवस्था छ। ती पदका लागि जाँदा पनि सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने हुन्छ। 

कुनै पनि देश जान सम्बन्धित देशको भिसा आवश्यकपर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती देश हेर्ने विदेशमा रहेको नेपाली नियोगमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने निर्देशक तथा सूचना अधिकारी सुवेदीले बताए।

प्रकाशित: Jun 02, 2023| 15:55 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्