आइतबार, असार २८, २०८३

मुग्लिन–मलेखु सडक खण्ड स्तरोन्नति हुँदै

मुग्लिन–मलेखु सडक खण्ड ४ अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो। 
 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं– मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ। नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडक खण्ड स्तरोन्नतिको काम थालिएको हो।

३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए। पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको हो।

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ। सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम ९ मिटर कालोपत्रे हुनेछ।बजार क्षेत्रमा भने चारदेखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए। बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिनेछ।

यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ। काम पनि सँगै सुरु भइसकेको छ। मलेखुसम्म ६ पुल निर्माण हुनेछन्। गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन्। खटौटीमा पुल निर्माण अघि बढेको छ। यो खण्डमा १० ठाउँमा अकासे पुल निर्माण गरिनेछन्।

मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा अकासे पुल निर्माण गरिनेछन्।आयोजनाको यो खण्ड ४ अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो। केही ठाउँमा रुख काट्न बाँकी छ।

यो खण्डमा करिब ३५० रुख काटिनेछन्। ‘यो सडक खण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौं’, उनले भने, ‘पहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना हुन्छ।’ सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ।

संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाले तीव्र गतिमा काम अघि बढाएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो। यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो। नागढुंगा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ।

प्रकाशित: Jun 02, 2023| 11:06 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्