गुल्मी– गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ। कफीले फल दिने समय सेतो गबारोले बिरुवा सुक्न थालेपछि किसान मर्कामा परेका हुन्। कफीका लागि आवश्यक पर्ने छहारीसमेत उपलब्ध नहुँदा बिरुवा मर्ने र कम उत्पादन हुने समस्या देखिएको हो।
‘तीन वर्षमा कफीले फल दिन्छ, तर गवारोले गर्दा फल दिने बेला बिरुवा नै मर्छ’, मदाने गाउँपालिका–३ सिर्सेनीका कफी कृषक नारायण अर्यालले भने, ‘गबारो बढी हुँदा र छहारी नहुँदा समस्या परेको छ।’
अर्का किसान दमन्ता अर्यालले बिरुवामा किरा लाग्ने, बिरुवा मर्नेजस्ता समस्या देखिएको बताइन्। कफीमा पहिले सानो जाली लगाएको र अहिले ठूलो लगाए पनि बिरुवाका मुन्टा भाँचिने समस्या भएको अर्यालको भनाइ छ। ‘सानैमा बिरुवा मर्ने समस्या भयो। बाँचेका केही बिरुवा अहिले हुर्कंदै छन्’, अर्यालले भनिन्, ‘पानी, मल र छहारी भए कफी उत्पादन वृद्धि हुने थियो।’
सिर्सेनी लाम्पाटाका किसान प्रेम अर्यालले छहारी नहुँदा घामबाट र चिसोबाट विभिन्न प्रकारका रोग लागेको बताए। कफीका मुन्टा भाँचिने, असिना र शीतबाट पनि कफीका बिरुवालाई असर गर्ने हुँदा अनिवार्य छहारी आवश्यक पर्ने उनको भनाइ छ।
राज्यले छहारीका लागि गुणस्तरीय टनेलको व्यवस्था गरिदिए कफी उत्पादनमा वृद्धि गर्न सकिने उनले सुनाए। कफीका लागि प्रसिद्ध जिल्ला गुल्मीमा यसको उत्पादन, उत्पादन गर्ने क्षेत्रफल र आबद्ध कृषक पनि बर्सेनि बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष २०७६/७७ मा १ हजार ६४५ कृषकले १८२ हेक्टर क्षेत्रलफलमा कफी लगाउँदा २४ मेट्रिक टन उत्पादन भएको थियो। आव २०७७/७८ मा १ हजार ६९५ कृषकले २०५ हेक्टरमा गरेको कफी खेतीबाट २५ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्यांक छ। यसैगरी आव २०७८/७९ मा १ हजार ७४० कृषकले २२५ हेक्टर क्षेत्रफलमा गरेको खेतीबाट २८ मेट्रिक टन कफी उत्पादन भएको थियो।
चालू आवमा ३० मेट्रिक टन कफी उत्पादन हुने कार्यालयको अनुमान छ। चालू आवमा २४१ हेक्टरमा १ हजार ८०५ कृषकले कफी खेती गरेको कार्यालय प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिइन्। पोखरेलले कफीमा आइपर्ने विभिन्न समस्याको न्यूनीकरणका लागि तालिम सञ्चालन गरेको बताइन्।
मदाने–३ सिर्सेनीमा १५ हप्ते तालिम नै सञ्चालन गरी कफीको खाडल व्यवस्थापन, बिरुवा हुर्काउने तरिका, सेतो गबारोको समस्या र समाधानका उपाय, छहारीको महत्वलगायत विषयमा तालिम दिइएको उनको भनाइ छ। ‘सेतो गबारोबाट बच्ने उपाय भनेकै पेष्ट र सरसफाइ गर्ने हो’, उनले भनिन्, ‘त्यसका लागि हामीले तालिमका साथै विषादी पनि उपलब्ध गराएका छौं।’