बाग्लुङ- बाग्लुङको निसीखोला गाउँपालिकाका शिरबहादुर सुनारले १५ वर्षभन्दा बढी समय माटोको भाँडा व्यवसाय गरे। पछिल्लो समय आयातित धातुका भाँडाले माटोका सामग्री विस्थापित हुँदै गएपछि उनले यो व्यवसाय छोडेका छन्।
सुनारले भने, ‘अहिले त जताततै प्लास्टिक, इस्टिल, सिल्टीका भाँडा पाइन्छ, उतिबेला माटोका बाहेक अरु भाँडा कम पाइन्थे, त्यही भएर पनि व्यापार राम्रो हुन्थ्यो, तर अहिले बिक्री हुनै छोड्यो।’
बजारबाट विभिन्न भाँडावर्तन खरिद गर्ने र गाउँ–गाउँमा पुगरे व्यापार गर्ने उनी अहिले घरधन्दामै व्यस्त छन। एक दशक अगाडिसम्म बाग्लुङका बजार र ग्रामीण क्षेत्रमा माटोका भाँडा प्रसस्त पाइने भए पनि अहिले निकै कम भएको उनको भनाइ छ।
यहीँ व्यवसायबाट आफ्नो छोराछोरी पढाउने र परिवार चलाउने गरे पनि माटोका भाँडाको माग निकै कम हुने र व्यापार हुन छोडेपछि व्यवसायबाट अलग्निुपरेको उनले बताए।काठमाडौं, भक्तपुर र चितवनदेखि खरिद गरेर भाँडा बिक्री गर्ने उनले व्यापार नभएपछि लाखौँको नोक्सान ब्यहोर्नुपरेको दुखेसो पोखे।
सुनारले भने, ‘पहिले गाउँमा रक्सी पार्ने हाँडी, घैँटो र पैसा जम्मा गर्ने खुत्रुकेको माग निकै आउने गर्थ्यो, एकै पटकमा दुई/तीन लाखको सामान खरिद गरेर बेच्ने गर्थे, सुरुको १० वर्ष राम्रो व्यापार भयो, घर बारी जोडे तर पछिल्लो पाँच वर्ष व्यापार निकै कम भयो, खरिद गरेको पैसा पनि नउठेपछि व्यापार गर्न छोडे, अहिले छोराछोरी हुर्किए, उनीहरूले आफ्नो धन्दा गर्न छन्, म बुढो घरको काम गरेर बस्छु, माटोका भाँडा अहिले हराउँदै गए, प्रयोग पनि हुन छोडे।’
सुनारले बाहिरबाट आउने धातु र प्लास्टिकका भाँडामा राज्यले रोक लगाउन सके मात्रै माटाका भाँडाको प्रयोग बढ्ने बताए। आफ्ना बाउ बाजेका पालमा धातुका सामान निकै कम पाइने हुँदा माटाकै भाँडा बढी प्रयोग हुने गरेको उनको भनाइ छ।
बाग्लुङ नगरपालिका-२ का टीकाबहादुर बोसेलले २५ वर्ष माटाका भाँडा बेच्ने काम गरे। अहिले यो व्यवसाय उनकी छोरी ३६ वर्षीया सुमित्रा बोसेलले सञ्चालन गरेकी छन। २० औँ वर्ष व्यवसाय गर्दा टीकाबहादुरले राम्रो आम्दानी गरेपनि अहिले सुमित्राले निकै कम व्यापार भएको बताइन्।
पाँच वर्षदेखि माटाको भाँडा व्यवसाय सञ्चालन गरेकी बोसेलले मासिक १०/१२ हजार आम्दानी गर्न पनि गाह्रो हुने गरेको गुनासो गरिन्। सुमित्राले साँघुरो पसलमा हाँडी, घैटो, गमला, खुत्रुकेलगायत विभिन्न थरीका माटोका सामान राखेकी छन्।
ती भाँडासँगै प्लास्टिकका गमला, बाल्टी, खुत्रुकेलगायतका सामान पनि छेउमै छन। माटाको भाँडा बिक्री नभएपछि प्लास्टिकका भाँडा पनि राखेको उनले सुनाइन्। माटाको भाँडा बकेचेर दिनभरिमा पाँच सयको कमाइ गर्न पनि नसकिने उनको भनाइ छ।
‘दश वर्ष अगाडिसम्म राम्रो व्यापार हुन्थ्यो, बाबाआमाले व्यवसाय गर्ने बेला महिनामै ४० हजारभन्दा बढी आम्दानी गर्नुहुन्थ्यो, अहिले त्यो अवस्था छैन, कहिले काहीँ दियो बिक्री हुन्छ’, सुमित्राले भनिन्, ‘अहिले त तामा, तिपल, फलाम र रबरका धेरै किसिमका भाँडा आए, त्यसले गर्दा माटाका भाँडा व्यापार ठप्प जस्तै भएका छन्।’