काठमाडौं– संघीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिमा हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ। ३ वैशाख २०७६ वैशाखयता दर्ता भएका यी उजुरी लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन्।
लेखा समितिको आजको बैठकमा समितिका सचिव एकराम गिरीले नयाँ सदस्य आएपछि थप एउटासहित हालसम्म १२१ उजुरी फस्र्योट हुन बाँकी रहेको बताए। नयाँ संसद् आएपछि गठन भएको लेखा समितिमा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर स्वामित्व विवादसम्बन्धी उजुरी परेको छ।
समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समिति अविछिन्न उत्तराधिकारीवाला संस्थाका रुपमा रहने भएकाले नयाँ सदस्य नियुक्त हुनुअघिका उजुरीबारे पनि छलफल र छानबिन गरिनुपर्ने बताए।
समिति सदस्य राजन केसी, अमरेशकुमार सिंह, रामकृष्ण यादव, गोकुलप्रसाद बास्कोटा, रामकृष्ण यादव, योगेशकुमार भट्टराई, विक्रम पाण्डे, जनार्दन शर्मालगायतले समितिमा परेका सबै उजुरीलाई छलफल र छानबिन गर्नुभन्दा महत्त्वपूर्ण विषयमाथिका उजुरीलाई पहिले समितिमा ल्याइनुपर्ने धारणा राखे।
समिति सञ्चालन कार्यविधिमाथिको छलफल पनि समितिको आजको बैठकमा चलेको थियो। त्यस्तै, समिति सभापति चयन छिट्टै टुंग्याउने विषय पनि समितिमा उठेको छ।