सेयर लगानीकर्ताहरुले घोषित बजेटको आय विवरण बुझाउनुपर्ने व्यवस्था नसच्याएमा कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन्। सेयर लगानीकर्ताहरुले आयविवरण बुझाउनुपर्ने र सोमा आयकर लाग्ने आशय बजेटमा राखिएपछि तीव्र असन्तुष्टि जनाएका छन्।
लगानीकर्ताका तीन संगठन नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ र पुँजीबजार लगानीकर्ता संघले संयूक्त विज्ञप्ति जारी गर्दै थप त्रसित बनाउने काम नहटे लाखौं लगानीकर्ता सडकमा उत्रिने चेतावनी दिएका हुन्।
‘धितोपत्र बोर्डलाई पठाएको पत्र बमोजिम धितोपत्रको कारोबारमा हुने पुँजीगत लाभमा अग्रीम कर असुलीको विवरण तथा विद्युतीय कर प्रणालीमार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले आफूलाई पायक पर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन सक्ने निर्देशन विपरित हालको बजेट आएको तीन संगठनको भनाइ छ।
बजेटको बुँदा नम्वर २९ मा उल्लेख गरिएको धितोपत्र, तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्थामा भनिएको छ ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्ने बााकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ र यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ।’
यो व्यवस्था कर विभागको २०७७/०३/०५ को पत्र विपरित रहेको र आजका मितिसम्म फर्म वा कम्पनी बाहेक व्यक्ति मार्फत गरिएको कारोबार व्यवसायको रुपमा नरहेको र सो अनुसार कर विवरण बुझाउनु पर्ने शीर्षकमा नरहेको लगानीकर्ताको भनाइ छ। लगानीकर्ताले व्यक्तिबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर कायम गर्न माग गरेका छन्।