बुधबार, भदौ ११, २०८२

भूमे पूजामा लिङ्गो जुधाउने प्रतियोगिता

 |  बुधबार, जेठ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

vianetvianet

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने प्रतियोगिता भएको छ। 

Kumaribank

हरेक वर्षको जेठ महिनामा मनाइने भूमे पूजाको अवसरमा आयोजना गरिएको लिङ्गो जुधाउने प्रतियोगितामा विगतमा झैँ गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गो जुधाइएको थियो । यो वर्ष समान उचाइका दुईवटै गाउँका लिङ्गो बराबरी भएको स्थानीय अगुवा धनीलाल गर्बुजाले बताए।

करिब चार सय वर्ष पुरानो इतिहास बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो वर्ष पनि दग्नामवासीले निरन्तरता दिएका हुन्। विशेषगरी प्रकृति पूजाको रूपमा चिनिने भूमे देवतालाई खुसी बनाउन दग्नाममा दुई गाउँबीच लिङ्गो जुधाउने गरिन्छ।

दग्नामको भूमे पूजाको मुख्य आकर्षणको रूपमा रहेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा दग्नामको गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउँदै आएका छन्। प्रकृतिको पूजास्वरूप मङ्गलबार दग्नाममा भूमे पूजा पर्वको अवसरमा दुई गाउँका स्थानीयवासीले मुल्का डाँडामा ध्वजा पतकाले सिँगारिएको बाँसको लिङ्गो प्रतिस्पर्धा गराएका थिए। 

दग्नामका वडा अध्यक्ष पविन गर्बुजाले जेठ १८ गतेदेखि सांस्कृतिक कार्यक्रम र त्यस पश्चात विविध खेलकुद कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। दग्नाम गाउँदेखि माथि शिरमा रहेको डाँडामा निकै रोचक तवरले आयोजित लिङ्गो जुधाइको अवलोकनका लागि गाउँदेखि टाढा तथा प्रवासमा रहेका दग्नामबासी लगायत अन्य छिमेकी गाउँका सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको थियो।

Metro Mart

जेठा भूमेको रूपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनामा वर्षभरिको खेतीबाली राम्रो होस्, बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस्, स्थानीयवासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौंदेखि भूमे देवताको पूजा गर्दै आएका छन्।

प्रकाशित: May 31, 2023| 08:17 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्