आइतबार, साउन ३१, २०८३

फ्रान्स र सर्बिया पठाइदिने भनेर ५२ लाख ठगी

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन र सर्लाहीको हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौँ बस्ने निरोज बुढाथोकी रहेका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

पाख्रिनले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनी फूर्पा शेर्पासमेत चार जनाबाट ४० लाख असुलेको पाइएको छ। उनले जानका लागि प्रतिव्यक्ति १७ लाख लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लागेपछि त्यहाँबाट मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पारी पटकपटक गरी पीडितबाट ४० लाख लिएको खुलेको छ।

पैसा लिएपछि सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट खोजीका लागि पत्राचार भएअनुसार खोजतलास गर्नेक्रममा ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उता सर्लाहीका बुढाथोकीले प्रमोद सिटौलासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति पाँच लाख ५० हजार लाग्ने भनी रकम उठाएको पाइएको छ।

यसरी पीडितबाट उनले १२ लाख लिएर फरार भएका प्रहरीले जनाएको छ। उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: May 31, 2023| 07:31 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्