शनिबार, जेठ २, २०८३

बजेट निर्माण अन्तिम चरणमा, आर्थिक सर्वेक्षण आज

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

सरकारले भोलि सोमबार संसद्‍मा पेस गर्ने आगामी आर्थिक वर्षको बजेट निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ। 

National life

अर्थ मन्त्रालयका अनुसार बजेटको मस्यौदालाई अन्तिम रुप दिने काम भइरहेको छ। अर्थमन्त्री प्रकाशरण महतले बजेटमा समावेश भएका र थप्नुपर्ने विषयमा दैनिकजसो प्रधानमन्त्रीलाई भेटेर राय लिइरहेका छन्। करका दर भने आइतबार रातिमात्र टुंगो लगाइने छ।

स्रोतको अभाव झेलिरहेको सरकारले चालु आयोजना सक्ने गरी बजेट विनियोजन गर्दै छ। सबैजसो मन्त्रालयको बजेट सिलिङ घटाइएकाले बजेट नै सानो आकारको आउन सक्ने बताइएको छ। 

योजना आयोगले भौतिक पूर्वाधार मन्त्रालयकै बजेट एक खर्बभन्दा तलको बनाउन आग्रह गरेपछि नयाँ योजना समावेश गरिएको छैन। सहरी विकास, पर्यटन र खानेपानी मन्त्रालयले पनि पुरानै कार्यक्रम सक्ने गरी बजेटमा आफ्ना कार्यक्रम प्रस्ताव गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल बाहेक अन्य कार्यक्रममा गत वर्षभन्दा कम बजेट प्रस्ताव गरेको छ।

योजना आयोगले एकै वर्षमा प्रतिफल दिन सक्ने आयोजनामा बजेट केन्द्रित गरिएको र केही आयोजनामा बजेट रोक्का गर्नेसम्म बताइसकेको छ। १६ खर्ब ८८ अर्ब हाराहारीको बजेट आउने बताइएको छ।

यसैबीच अर्थमन्त्री प्रकाश शरण महतले आज आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण संसद् बैठकमा पेस गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सर्वेक्षण पेश गर्ने कार्यसूची छ। हिजो बसेको बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो।

प्रकाशित: May 28, 2023| 07:58 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्