मंगलबार, भदौ २, २०८३

हुलाकको दुई करोड हिनामिना गर्ने कुर्मी पक्राउ

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन्। हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब दुई करोड रूपैयाँ ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए।

पर्सा, बहुदारमाई गाउँपालिका–२ बस्ने कुर्मीले देवताल गाउँपालिका–४ टोल पिप्राढी निवासी ५५ वर्षीय प्रदीपकुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार पाँच सय २६ र उनकी पत्नीको खाताबाट २१ लख ५३ हजार आठ सय ८५ गरी ५७ लाख चार हजार चार सय ११ रूपैयाँ हिनामिना गरेको उनीहरूको आरोप छ।

कुर्मीले उनीहरूसहित १३ जना बचतकर्ताको एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रूपैयाँ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाई सो रकम हिनामिना गरेको आरोपमा महागढीमाई नगरपालिका–२ बरियापुरका ज्ञानप्रकाश रौनियारसहित १३ जनाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयले हुलाकका निमित्त प्रमुख कुर्मीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेयले बताए।
 

प्रकाशित: May 28, 2023| 07:31 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्