शनिबार, जेठ २, २०८३

आइएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं- आइएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ । वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्वन्धमा उक्त सम्झौता भएको हो ।

National life

सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन् । सो सम्झौताको कार्यान्वयन पछि विदेशस्थित आइएमई काउण्टर तथा साझेदारहरु मार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदान वापतको रकम कोषमा जम्मा गर्न सक्ने छन् ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौं नेपालीहरुलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी यो सम्झौता अनुसारको छिटै व्यवस्था मिलाइने जानकारी गराए । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रर्वद्धनका लागि समेत सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आइएमई तथा यसका साझेदारहरुको बिश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरुलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गरे ।

सम्झौता हस्ताक्षर समारोहमा कोषका निर्देशक रोशन कोजु र आइएमई लिमिटेडका तर्फबाट बिजनेश डेभलपमेन्ट म्यानेजर श्यामकृष्ण खकुरेलको पनि उपस्थिती थियो ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजना अन्तर्गत कम्तिमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात हाल न्यूनतम दुइ हजार दुई मासिकरुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीनगुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।
 

प्रकाशित: May 22, 2023| 19:30 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्