शनिबार, जेठ २, २०८३

खानी खोज्न ४२० कम्पनीले पाए लाइसेन्स

फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतलासका लागि विभागले लाइसेन्स दिएको हो।
 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं– खानी तथा भूगर्भ विभागले ४२० कम्पनीलाई खानी खोजतलास गर्न अनुमतिपत्र (लाइसेन्स) दिएको छ। विभागले चालू आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न ४२० कम्पनीलाई लाइसेन्स वितरण गरेको हो।

National life

विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट लाइसेन्स प्रदान गरिएको जानकारी दिए। विभागले गत वर्ष ४०५ खानी खोजतलासका लागि लाइसेन्स प्रदान गरेको थियो।

विभागले चालू आवमा १५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ भने गत वर्ष १५८ खानी उत्खननका लागि अनुमति दिएको थियो। सूचना अधिकारी बाँस्कोटाले धौवादी फलाम उत्खननका लागि नवलपरासीमा विभागले खानी कम्पनीलाई अनुमति दिएको बताए।

२०३३ देखि आधिकारिक रुपमा स्थापना भई खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले हालसम्म ५० खानीको पहिचान गरी उत्खननका लागि विभिन्न कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ। उदयपुर सिमेन्ट कारखाना, हेटौंडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुंगा खानी विभागले अध्ययन गरेर प्रदान गरेको चुनढुंगा हो।

विभागका महानिर्देशक डा. सुधीर रजौरेले खानी विभागले यस वर्ष मात्रै १० बढी स्थानमा खानीको अध्ययन गरिरहेको बताए। उनका अनुसार संखुुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौलाबजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुवी, रुकुममा तामा, उदयपुरको रतुवामाइमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढुंगाको अध्ययन भइरहेको छ।

विभागले खानीको सम्भाव्यता अध्ययन गरिरहे पनि ल्याबमा प्राविधिक कर्मचारी कमी हुँदा समयमा खानीको रिपोर्ट आउन भने समस्या हुने गरेको छ। विभागले प्रत्येक वर्ष देशका छुट्टाछुट्टै स्थानमा खानीको सम्भाव्यता अध्ययन गरे पनि त्यसको रिपोर्ट आउन वर्षौं लाग्ने गरेको छ।

खनिजजन्य पदार्थ चेकजाँचका लागि विभागको ल्याबमा ११ जनाको दरबन्दी रहे पनि हाल दुई जना मात्र कार्यरत छन्। थोरै जनशक्ति भएको कारण २०७२ मा अध्ययन गरेको खानीको रिपोर्ट अहिलेसम्म आउन सकेको छैन।

विभागले चालू आवको फागुन महिनासम्म खानी उत्खननका लागि अनुमति प्रदान तथा लाइसेन्स प्रदान गरेर ३५ करोड ६६ लाख ३३ हजार ४४ राजस्व संकलन गरेको छ। गत वर्ष फागुन मसान्तसम्म ९३ करोड ४५ लाख राजस्व संकलन गरेको थियो।

प्रकाशित: May 22, 2023| 11:02 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्