काठमाडौं–अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेका सूचकबारे छलफल गरेका छन्। आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकबारे अर्थमन्त्रीले सांसदसँग छलफल गरेका हुन्।
छलफलमा अर्थमन्त्री डा। महतलाई सांसदहरूले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राखेका थिए। सांसदको जवाफ दिँदै मन्त्री डा। महतले भने, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नुहुँदैन। तर हामी नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो। यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ। यसमा दुईमत छैन। युवाहरूको क्षमता छ। देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं।’
नेपालमै उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री महतले जोड दिए। उनले नेपाली उद्योग, व्यवसायीलाई प्रोत्साहन गर्ने कुरालाई आउँदो बजेटमा प्राथमिकता दिइने स्पष्ट पारे। बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीति बनाइने उनको भनाइ छ।
अर्थमन्त्री डा। महतले भने, ‘अर्थतन्त्रमा सुधारको आवश्यकता छ। यसलाई इमानदारी साथ काम गर्छु। तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सबै समस्या सफाचट हुने होइन। अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधार गरिनेछन् । धेरैजसो यसपालि गरिनेछ। कतिपय कुरा क्रमशः गरिँदै लगिनेछ।’
सरकारका नीति तथा कार्यक्रम सार्वजनिक भए पनि कार्यान्वयन मूल चुनौती रहेको उनले औंल्याए। उनले भने, ‘९ महिनापछि स्रोत रिलिज गरिदिनुप¥यो, अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन्। त्यसलाई मैले रोकिदिएको छु । ९ महिनासम्म के गरेर बस्योरु बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदै छ, गृहकार्य तत्काल सुरु गर्छौं। यी कुरा यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौं। यसबारे गृहकार्य भइरहेको छ।’
अर्थमन्त्री महतले यति गर्न सकिए पुँजीगत खर्चको प्रभावकारिता र पुँजी प्रवाह बढेर यसले आर्थिक वृद्धिदरलाई मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ। एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन। पुँजीगत खर्च, राजस्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित छ। यी सबै कुरा दिनरात हेरिरहेको छु। राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन। म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु।’
राजस्व कम उठेपछि सोही आधारमा काम सुरु गरिरहेको उनले बताए। उनले भने, ‘यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन। वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैनरु यसको समीक्षा हुन जरुरी छ। समीक्षा गरेर हाम्रो आवश्यकताअनुसार ल्याउन आजको भोलि नै सम्भव छैन। यसको पनि सीमा छ, योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यक छ।’
मुलुकको साहूब्याज एकदमै बढ्दै गएको उनले जानकारी दिए। भूकम्पका बेला लिएको ऋणको पनि भुक्तानी भइनसकेको अर्थमन्त्री महतको भनाइ छ।
‘ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौं भने साधारण र पुँजीगत खर्चमा दबाब सिर्जना हुन्छ। प्रशासनिक खर्चको सीमा छ। सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं। सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौ। हामी ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौं। यो जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा दबाब पर्छ,’ उनले भने।
अर्थमन्त्री महतले पुँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न सरकारसँग स्रोत–साधन सीमित रहेको बताए। बैठकमा एमाले सांसद सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा। स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री महतलाई प्रश्न गरेका थिए।
अर्थ समितिको बैठक कांग्रेस सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो।