काठमाडौं- १४ औं महाधिवेशनको मिति नजिकिइरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहीबार बस्दैछ। महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेकोले आज बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल र निर्णय हुने बताइएको छ।
हिजो बुधबारमात्रै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको थियो।
सभापति देउवाले मंसिरमा महाधिवेशन गर्न प्रस्ताव राखेका छन्। तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने वडा तहलगायत तल्ला तहका महाधिवेशन भदौमै सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएका छन्।
सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। त्यसपछि कसरी पार्टीको म्याद थप गर्ने भन्नेबारे कांग्रेसले बताइसकेको छैन। वरिष्ठ नेता पौडेलले भदौ २३ पछि यो केन्द्रीय समिति नरहने बताएका छन्।
क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीका कारण भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेता पुगेका छन्। तर, सारेर कहिले गर्नेमा पार्टीभित्र एकमत देखिएको छैन।