शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २७औं पटक सगरमाथा चुमेर कामीरिताले बनाए विश्व कीर्तिमान 

२७औं पटक सगरमाथा चुमेर कामीरिताले बनाए विश्व कीर्तिमान 

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।
 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

काठमाडौं– कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान तोडेका छन्। वसन्त ऋतुको जारी आरोहणमा बुधबार बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि कायम गरेको २६औं पटकको रेकर्ड तोडेका हुन्।

National life

सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा गएका  कामीरिताले आफ्नै विश्वकीर्तिमान तोडेर विश्वलाई सुरक्षित आरोहणको सन्देश दिएका छन्। सगरमाथाको आधार शिविरमा रहेका इमाजिन नेपाल ट्रेक्स एन्ड एक्सिपिडिसन कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा ग्याल्जेन शेर्पाका अनुसार कामीरिताको विश्व कीर्तिमान कायमसँगै यो याममा हालसम्म १०० बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन्।

झन्डै १०० आरोही यतिखेर सगरमाथाको हिलारी स्टेपभन्दा माथितिर लामबद्ध छन्। उनीहरु आज साँझसम्म चुचुरोमा पुग्ने जनाइएको छ। पर्यटन विभागका निर्देशक युवराज खतिवडाले कामीरिताले सगरमाथा आरोहणमा विश्व कीर्तिमान बनाएको बताए। उनका अनुसार करिब १०० आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् भने आज थप १०० आरोही चुचुरोमा पुग्ने अनुमान छ।

‘कामीरिताले विश्व कीर्तिमान बनाउनुभएको छ। आरोहण धमाधम भइरहेको छ। सञ्चार सम्पर्क राम्ररी नभएका कारणले सबै आरोही समूहको यकिन जानकारी आइसकेको छैन। आज बेलुकासम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्छन् भन्ने छ। साँझसम्म ‘गुड न्यूज’ आउला’, निर्देशक खतिवडाले भने। कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औं पटक सगरमाथाको आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोडेका छन्।

खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै ८ पटक चोयु, ३ पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ३९ पटक विश्वका अग्ला हिमाल आरोहण गरिसकेका छन्। 

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ। यही याममा पासाङ दाबा शेर्पाले २६ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन्।

यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले सगरमाथा आरोहण गरेका छन्। शेर्पा आज बिहान सगरमाथाको चुचुरोमा पुगेको थामसेर्कु ट्रेकिङ कम्पनीले जनाएको छ।

यस वर्षको वसन्त ऋतुको आरोहण गत ३० वैशाखबाट सुरु भएको  थियो। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो।

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो। वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार ४४ आरोही समूहका ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन्। सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको संख्या हो।

प्रकाशित: May 17, 2023| 12:37 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्