काठमाडौं- गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिडयताको सबैभन्दा बढी रहेको छ।
‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको हो। अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आएका छन्।
संचालक राजेशबावु श्रेष्ठले भने वैशाख भर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको छन्। चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको र असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए। पछिल्लो समय भारतीय पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको बताए।
कम्पनीले मनकामना केबलकार केही समय अघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नति गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहेकोछ। यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्टसिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ।