काठमाडौं– संघीय प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले अर्थमन्त्रीसमक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ।
समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले गर्नुपर्नेलगायत विषयमा छलफल भएको हो।
बैठकमा विशेषगरी सांसदहरुले अर्थतन्त्रको वर्तमान अवस्था, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यदिशा, भ्रष्टाचार नियन्त्रण तथा सुशासन, संसदीय समितिमा स्वार्थ बाझिने गरी सांसद नियुक्ति, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा अनियमिताको आशंकालगायतका विषयमा जोड दिएका थिए।
बैठकमा पूर्वअर्थमन्त्री एवं सांसद विष्णुप्रसाद पौडेलले पहिलो बैठक भएकाले कुनै एजेन्डामाथि छलफल नभएको धारणा राखे। आगामी बैठकका एजेन्डाबारे पूर्व जानकारी गराएर छलफल हुने उनले बताए।
समितिको सभापति चयनको काम छिटो टुंग्याउन पनि उनले जोड दिए। अहिले अर्थतन्त्र समस्यामा रहेका बेला अर्थमन्त्रीलाई संसदीय समितिका सुझाव लगेर त्यसलाई कार्यान्वयन गर्न सुझाव दिए।
‘अर्थतन्त्रमा अनगिन्ती समस्या छन्। त्यसकारण समाधान कहाँबाट सुरु गर्ने भनेर हामीले पहिल्याउन जरुरी छ । यस्तो अप्ठ्यारो अवस्थामा सरकारले समितिको सहयोग र विश्वास लिएर अघि बढ्नपर्छ’, पौडेलले भने।
उनले समितिले बजेटबारे केही नीतिगत सुझाव दिन सक्ने बताए।
पूर्वअर्थमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विगतदेखिकै नीति र अभ्यासका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै अब अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति बनाएर सुधार गर्न सुझाए।
‘अर्थतन्त्र समस्याग्रस्त छ। यसलाई लयमा ल्याएर विकास निर्माण र समृद्धितर्फ अग्रसर गराउनुपर्नेछ। एक दिनमै अर्थतन्त्र सुधारमा चमत्कार हुन सक्दैन। लामो समयदेखिका अर्थतन्त्रका सबल र दुर्बल पक्ष हेर्न जरुरी छ’, कार्कीले भने।
सांसद पदम गिरीले नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल अनुमति (स्टक ब्रोकर)को लाइसेन्सबारे समितिबाट विगतमा भएको अध्ययन र त्यसको कार्यान्वयनको अवस्थाबारे सोधखोज गरिनुपर्नेमा जोड दिए।
समितिले सरकारी स्वामित्वको स्टक एक्सचेन्जमा रणनीतिक साभेदार भित्र्याउन सकिने सुझाव दिएकामा त्यसलाई लत्याएर नयाँ लाइसेन्स दिन लागिएको उनको भनाइ छ।
अहिले नयाँ स्टक र धितोपत्र दलालको लाइसेन्स दिँदा आर्थिक चलखेलको आशंका भएकाले त्यसबारे समितिले तत्काल अध्ययन थाल्न उनले आग्रह गरे।
सांसद ज्ञानबहादुर शाहीले अर्थतन्त्र सुधारका लागि सरकारले के–कस्तो काम गरिरहेको छ भन्नेबारे समितिमा जानकारी गराइनुपर्ने धारणा राखे। ‘आर्थिक सूचक खस्किरहेका छन्। तर अर्थतन्त्र सुधार गर्नका लागि सरकारका पछिल्ला कदम के छन्, के गरिरहेको छ भन्ने जानकारी छैन। समितिको अबको बैठकमा अर्थमन्त्रीलाई पनि बोलाएर यसबारे जानकारी गराउन आवश्यक छ’, उनले भने।
समितिका गतिविधि प्रभावकारी र पारदर्शी बनाउन प्रविधि प्रयोगलाई जोड दिनुपर्ने उहाँले बताए। सांसद विराजभक्त श्रेष्ठ र नारायणप्रसाद आचार्यले संसदीय समितिमा स्वार्थ बाझिने गरी सांसद नियुक्त भएको विषय उठाए। ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्टले गर्दा नीतिगत भ्रष्टाचार हुन्छ। अझ अर्थ समितिमा त झन् कुनै न कुनै तरिकाले कन्फ्लिट अफ इन्ट्रेस्ट हुने रहेछ। वित्तीय सुशासनका लागि हामीले यस्ता विषयलाई पनि ख्याल गर्नुपर्छ’, श्रेष्ठले भने।
सांसद नारायणप्रसाद आचार्यले स्वार्थ बाझिने गरी समितिमा सांसद राखिएको विषयलाई गम्भीर रुपमा लिइनुपर्नेमा जोड दिए।
सांसद नारायणी शर्माले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रश्न गर्ने र हल खोज्ने थलोका रुपमा अर्थ समिति रहेकाले बैठकमा छलफल हुने विषय र एजेन्डाको प्राथमिकता तोकेर जानुपर्ने बताइन्।
त्यसैगरी सांसद छिरिङ डम्डुल लामा (भोटे) ले संसदीय समितिमा कुनै पक्ष वा विपक्ष नभनी सबै सांसदले एकअर्काको सहयोग र समन्वयबाट समान धारणा बनाएर जानुपर्ने आवश्यकता औंल्याए।
सांसद दीपक खड्काले पनि समितिको काम–कारबाही चुस्त र प्रभावकारी बनाउन पक्ष–विपक्ष हुन नहुने बताए। ‘अहिलेको अवस्थामा हामी सबैले कसो गर्दा गर्विलो अर्थतन्त्र निर्माण गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ। आगामी आर्थिक वर्षको बजेटका लागि पनि सरकारलाई के–कस्ता सुझाव दिन सकिन्छ तयारी गरौं। समितिको प्रभावकारिताका लागि पक्ष विपक्षतिर नलागौं’, उनले भने।
सांसद पूर्णबहादुर तामाङले विद्युतीय सवारी र विद्युतीय चुलो प्रयोग बढाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत केही महत्त्वपूर्ण घोषणा गर्नुपर्ने बताए। काठमाडौं उपत्यकाभित्रका पुराना ट्याक्सी हटाएर विद्युतीय ट्याक्सी चलाइनुपर्ने सुझाव उनको छ।
सांसद गंगा कार्कीले अर्थतन्त्रमा देखिएका समस्या अहिले सिर्जना भएको नभई लामो समयदेखिका खराब नीति र कार्यशैलीको शृंखलाको नतिजा रहेको बताइन्। ‘अर्थतन्त्रको समस्या अहिलेको मात्र होइन। यो लामो समयदेखिको शृंखला हो। भ्रष्टाचार, बिचौलिया र दलालीकरण अहिलेको समस्या हो’, उनले भने। उनले फजुल खर्च कटौती गरेर जानुपर्नेमा सुझाव दिइन।
सांसद मुक्ताकुमारी यादवले अर्थतन्त्र सुधारका लागि अर्थ समितिमार्फत सरकारलाई साझा सुझाव दिनुपर्ने बताइन्। सांसद अन्जनी श्रेष्ठ र रणकुमारी बलम्पाकी मगरले युवा स्वरोजगारमा विषयमा भर्ना राख्दै युवा विदेश जान रोक्नुपर्ने, औद्योगिक उत्पादन तथा कलकारखाना चलाएर आन्तरिक उत्पादन बढाउनुपर्ने, सामूहिक खेती र सामूहिक कृषिपालनका लागि प्रयास गरिनुपर्नेलगायतका विषय बजेटले समेट्नुपर्ने गरी अर्थ समितिबाट सुझाव जानुपर्ने धारणा राखे।