शनिबार, साउन १२, २०८१

क्लासिक

बलिउडका मानक भंग गर्ने चरित्र अभिनेता डेनी

हालै डेनीले चलचित्र 'उँचाइ'मा अभिनय गरेका छन्। यसको सुटिङ नेपालमा पनि भएको छ। 
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

बलिउडका थुप्रै खलपात्र र चरित्र अभिनेताले आफ्नो छुट्टै पहिचान बनाएका छन्। सबैका आ-आफ्नै कथा-व्यथा छन्। 
बलिउडमा जमेका एक खलपात्र हुन् डेनी डेङ्‍जोम्पा एउटा यस्तो नाम हो जसको सफलताको कथा फरक तर महत्वपूर्ण छ।

triton college

बलिउडमा उनी एउटा मानक भंग गरेर स्थापित भएका कलाकार हुन्। यत्तिले पनि उनको उपस्थिति कति सशक्त छ भन्ने देखाउँछ। बलिउडमा स्थापित पारम्परिक हिरोको छविका बीच सिक्किमबाट आएका डेनी त्यसताका अपवादजस्ता थिए। तर उनले आफ्नो सशक्त अभिनय र फरक ‘लुक’ भएकाले अलग्गै पहिचान बनाए। 

सन् २०१८ मा बीबीसीलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, 'त्यसताका नाटकीय चलचित्र धेरै बन्थे। सासू–बुहारीबीचको तनाव, दाइ–भाइबीचको मिलन र हिरो तथा भिलेनको कथानक हुन्थ्यो। मलाई केही शुभचिन्तकहरुले सलाह दिएका थिए- जस्तो प्रकारको चलचित्र यहाँ निर्माण हुन्छ, तिम्रो जस्तो अनुहार भएको चरित्र खप्दैन। त्यसैले अझै बेला छ। जागिर खाऊ।'

आफूलाई सुहाउने चरित्रमात्रै रोजे

आफूलाई कुन चरित्रमा बलियो गरी उभ्याउन सकिन्छ भन्ने कुराको प्रमाण उनले पहिलो चलचित्रबाट नै दिइसकेका थिए। बलिउडमा आफ्नो करियरको सुरुवातमै उनले आफूलाई सुहाउने पात्र रोजे। त्यही भएर पनि पूर्वोत्तर राज्यबाट आएका त्यतिबेलाका एक साधारण केटाको सफलताको कथा चाखलाग्दो छ।   

Metro Mart
vianet

सन् १९७० को दशकताका हिन्दी चलचित्रका महानायक अमिताभ बच्चन सिने क्षेत्रमा आफ्नो पहिचान बनाउने प्रयास गर्दै थिए। त्यसैताका सिक्किमबाट आएका एक युवक डेनी पनि सिने क्षेत्रमा कामको खोजीमा थिए। त्यसैबेला निर्देशक बीआर चोपडा आफ्नो नयाँ चलचित्र ‘धुंध’मा डेनीलाई इन्स्पेक्टरको चरित्रका लागि भेट्न बोलाए। तर डेनीलाई सो चरित्र नै मन परेन। उनलाई अर्कै चरित्र जो खलपात्रको थियो, आफूलाई सुहाउने जस्तो लाग्यो। 

२०–२१ वर्षका तन्नेरीले त्यसबेलाका दिग्गज निर्देशकलाई आफू इन्स्पेक्टरको भूमिका ननिभाउने सुनाए। निर्देशकले उनलाई सो रोलका लागि अमिताभ बच्चन नामको एक नायकलाई साइन गरिसकिएको बताए। तर पनि डेनीले मानेनन्।

धुंधमा रहेको खलपात्रको भूमिका, सानो तर सशक्त थियो जो पछि डेनीले नै पाए। सन् १९७३ मा आएको धुंध चलचित्र हेर्ने सबैले उनको उक्त भूमिकालाई मन पराए। धुंध चलचित्र रिलिज भएसँगै उनको ख्याति बढ्यो र उनको अभिनय यात्राले राम्रो गति लियो।

त्यसपछि डेनीले अग्निपथ, हम, खुदागवाह, रोबोट र भर्खरमात्रै रिजिल भएको उँचाइजस्ता दुई सयभन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन्।

‘वाइल्ड फिल्म्स इण्डिया’लाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, 'जब म फिल्म इन्स्टिच्युट अफ पुनामा अध्ययनरत थिएँ, त्यतिबेला निर्देशक बीआर चोपडा हाम्रो निरीक्षक भएर आएका थिए। उनले मलाई भनेका थिए, तिमी अलग खालको कलाकार रहेछौ। तिमी बम्बई आएपछि मलाई भेट्नु। बम्बई पुगेर म उनलाई भेट्न गएँ, तर त्यसबेला उनले बनाउन लागेको चलचित्रमा मेरो लागि कुनै रोल थिएन। पछि उनले धुंध बनाउने बेला मलाई बोलाए। त्यति महान् निर्देशकले एक संघर्षरत केटोलाई बोलाउनु ठूलो कुरो थियो। यसरी चलचित्र क्षेत्रमा मेरो आगमन भयो।'

सिक्किम घर भएका डेनीलाई सेनामा भर्ती हुने मन थियो। उनी एनसीसी क्यानडिडेट पनि थिए तर त्यसैताका सीमामा चीन र भारतबीच द्वन्द्व शुरु भयो। जसमा थुप्रै भारतीय सैनिक मारिए। त्यसपछि उनकी आमाले उनलाई सेनामा भर्ती हुन् जान दिइनन्। संगीतमा रमाउने उनी अर्को विकल्पको खोजीमा पुनाको फिल्म इन्स्टिच्युट पुगे।

डेनीको नाम डेनी, नायिका जया बच्चनले राखिदिएकी हुन्। डेनी सुनाउँछन्, 'जब म पुनामा पढ्न गएँ, पहिलो दिन सबै विद्यार्थीले आ-आफ्नो नाम भने। मैले आफ्नो नाम छिरिङ फिन्टोस डेङ्जोम्पा हो भने, त्यहाँ उपस्थित कसैले पनि मेरो नाम उच्चारण गर्न सकेनन्। त्यसपछि त्यहाँ सबैले मलाई देखेपछि श..श..भनेर बोलाउँथे। जया बच्चन पनि त्यहिँ पढ्थिन्। उनले मलाई आफ्नो सजिलो नाम ‘डेनी’ राख्ने सल्लाह दिइन्। यसरी म डेनी बनेँ।'
उनी बलिउडमा एक राम्रो अभिनेता र खलनायकको रुपमा स्थापित भए। 

गायक डेनी

अघिअघि तोपैको गोला, पछिपछि मेशिनगन बरर.. 

भारतकी प्रख्यात गायिका आशा भोसलेसँग मच्ची–मच्ची यो गीत गाउने अरु कोहि नभएर उनै अल्लारे ठिटो डेनी हुन्। त्यतिबेलै सुपरहिट भएको सो गीत आज पनि उत्तिकै लोकप्रिय छ। उनी एक सम्पूर्ण कलाकार त थिए नै, गायनमा पनि उत्तिकै प्रखर थिए। नेपाली दर्शक–श्रोता आज पनि उनको गायनको प्रसंशक छन्। 

उनले नेपाली र हिन्दी चलचित्रमा पनि गीत गाएका छन्। उनले प्रख्यात गायकहरु मोहम्मद रफी, किशोर कुमार, लता मंगेशकर र आशा भोसलेसँग सहकार्य गरेका छन्। नेपाली चलचित्र ‘साइनो’ मा लेखन तथा अभिनय समेत डेनीले गरेका छन्। जसलाई पछि उनले दूरदर्शनमा ‘अजनबी’ नामले टेलिसिरिजको रुपमा रिलिज गरेका थिए। 

अग्निपथमा अमिताभ बच्चनसँग उनको जोडीलाई दर्शकले निकै रुचाएका थिए। सन् ७० र ८० को दशकमा उनले सबै ठूला अभिनेताहरुसँग खलनायक तथा सहनायकको रुपमा काम गरे। मिथुन, राजेश खन्ना, धर्मेन्द्र, राज कपुरसँग उनले सहकार्य गरेका छन्। धर्मात्मा, कमान्डो, प्यार झुकता नहीं र द बर्निङ ट्रेन आदि उनका राम्रा चलचित्र हुन्।

फिल्म फेयर पुरस्कारदेखि पद्मश्रीसम्म

चलचित्रमा उम्दा अभिनय र फरक चरित्रको लागि भारत सरकारले प्रदान गर्ने सर्वक्षेष्ठ पुरस्कार पद्मश्रीबाट डेनीलाई सम्मान गरिएको छ। सन् १९९१ मा चलचित्र ‘हम’मा उनले अभिनय गरेका बखतावरको चरित्र सन् १९९२ मा खुदा गवाहमा खुदाबख्शको चरित्र आज पनि चर्चा हुने गरेको छ। खुदाबख्श चरित्रको लागि उनलाई खलपात्रको फिल्मफेयर पुरस्कार समेत प्रदान गरिएको थियो।

भारतका वरिष्ठ पत्रकार रामचन्द्रन श्रीनिवासन भन्छन्, 'सिक्किममा जोगरिला नामको उनको बंगला एकदमै प्रख्यात छ। उनकी श्रीमती सिक्किमकी राजकुमारी हुन्। डेनी सिक्किममा बसेर एकदमै रमाउँछन्। डेनीको हुर्काइ बडो शान्त वातावरणमा भएको छ। जुन प्रकारको अभिनय उनले गर्छन्, वास्तवमा उनी त्यसको एकदमै विपरित स्वाभावका मानिस हुन्।' हालै उनले चलचित्र उँचाइमा अभिनय गरेका छन्। यसको सुटिङ नेपालमा पनि भएको छ। 
- बीबीसी हिन्दीको सहयोगमा

प्रकाशित: May 13, 2023| 18:06 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्