शनिबार, जेठ २, २०८३

९ महिनामा श्रम स्वीकृति लिनेको संख्या ६ लाख नाघ्यो

प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेको विभागको तथ्यांक।
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं– वैदेशिक रोजगार विभागले चालू आवको ९ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएको तथ्यांक सार्वजनिक गरेको छ।

National life

गत साउनयता ५ लाख ४८ हजार ६६४ पुरुष र ५३ हजार ४८९ महिला गरी ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको हो। यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको संख्या हो।

प्रत्येक दिन २ हजार बढीले श्रम स्वीकृति लिने गरेका छन्। गत साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४ ले श्रम स्वीकृति लिएका छन्। यस्तै, पुसमा ६५ हजार ४६४, माघमा ६४ हजार २८४, फागुनमा ६१ हजार ८४५ र चैतमा ६१ हजार ४७८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ। 

सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ। गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या  ५१.५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ।

चैतसम्म ३ लाख ८७ हजार ८३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार ९५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन्। 

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ। चालू आवको ९ महिनामा ९ खर्ब ३ अर्ब ३९ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशत बढी हो।

प्रकाशित: May 13, 2023| 15:47 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्