काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत बैंकको ब्याजरदर १ प्रतिशत बिन्दुले घटाएको छ।
यसअघि साढे ८ प्रतिशत रहेको बैंकदर अब साढे ७ प्रतिशत कायम गरिएको छ। सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने ऋणमा लिने ब्याजदरलाई नै बैंकदर भनिन्छ।
हालको नीतिगत दर ७ प्रतिशतलाई यथावत् राखिएको छ। राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षामार्फत नीतिगत दर ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको छ। यो सुविधालाई राष्ट्र बैंकले तेस्रो समीक्षामार्फत पनि निरन्तरता दिएको छ।
फलस्वरुप अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत विन्दुले कमी आएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विद्यमान आकार, पुँजी पर्याप्तताको अवस्था, वाहृय क्षेत्र सुधार र वित्तीय स्रोत परिचालनको परिदृष्यलाई दृष्टिगत गर्दा राष्ट्र बैंकले आगामी दिनहरुमा तरलता र ब्याजदरमा सुधार आउन गई आर्थिक गतिविधि चलायमान हुन थप सहयोग पुग्ने दाबी गरेको छ।