शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार : प्रधानमन्त्री प्रचण्ड

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार : प्रधानमन्त्री प्रचण्ड

नेपालका लागि सम्भावित लगानीका क्षेत्र र स्रोतबारे निजी क्षेत्र, सरकार र दातृ निकायलाई एकै मञ्चमा राखेर छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक, सामाजिक विकासका लागि निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य गर्न सरकार तयार रहेको बताएका छन्। 

National life

शुक्रबार नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा आयोजित इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। 

लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनले आर्थिक मुद्दामाथि केन्द्रित रहेर सरकारलाई उपयुक्त सुझाव दिने अपेक्षा उनले गरे।

सरकारले विकासका लक्ष्य हासिन गर्न यसअघि नै लगानीका क्षेत्र तय गरेको र त्यसका लागि संस्थागत र संरचनागत व्यवस्था मिलाइसकिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। यसपटकको कार्यकालमा आफू निजी क्षेत्रसँग अर्थपूर्ण र प्रभावकारी सहकार्यका लागि तयार रहेको उनको भनाइ छ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई आर्थिक विकासको गतिमा अगाडि बढाउन स्रोत–साधन आवश्यक भएको बताए। अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्रसँग सरकारले नजिकबाट सहकार्य गरिरहेको उनले धारणा व्यक्त गरे। 

‘उदार अर्थतन्त्र, लोकतान्त्रिक व्यवस्था अनि अहिलेसम्म कहिलै डिफल्ड नभएको र कुनै पनि विदेशी कम्पनीको प्रतिफल नरोकिएको जस्ता आकर्षक ऐतिहासिक ट्रयाक नेपालसँग छ’, अर्थमन्त्री महतले भने।

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने हो भने अहिले लगानी आवश्यक रहेको काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अर्थशास्त्री प्राडा अच्युत वाग्लेले बताए। 

मुलुकको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि सरकारले लगानी गरेर पनि अपुग हुने हुँदा निजी क्षेत्रको सहभागिता अपरिहार्य हुने उनले औंल्याए। 

कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष डस्टिडारले नेपालमा लगानी सम्भावना र आवश्यकता भएको उल्लेख गरे। नेपालमा लाभदायक क्षेत्र पनि उत्तिकै भएकाले निजी क्षेत्रको लगानीका लागि सरकारी पहल अझ बढी हुनुपर्ने उनको सुझाव छ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बोर्डले रणनीतिक योजनाअन्तर्गत सम्मेलन आयोजना गरेको जानकारी दिए। अर्थलाई थप विस्तार गर्न लाभदायक सम्भावनाको खोजीमा सम्मेलन केन्द्रित हुने उनले बताए। 

‘बोर्डले अहिले नै ऊर्जा क्षेत्रमा ठूलो विदेशी लगानी व्यवस्थापन गरिरहेको छ। अझै पनि अबको तीन÷चार वर्षभित्रमा अर्बौंको लगानी ल्याउने लक्ष्य राखेका छौं। त्यसका लागि यो सम्मेलनमा उपयोगी हुनेछ’ उनले भने। 

नेपालका लागि सम्भावित लगानीका उपकरण र स्रोतका बारेमा निजी क्षेत्र, सरकार र दातृ निकायलाई एकै ठाउँमा राखेर छलफल गर्ने उद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा विभिन्न निकायका जिम्मेवार सरकारी अधिकारी, विकास साझेदार निकायका प्रतिनिधि, अर्थशास्त्री, विकास विज्ञ सहभागी छन्।

प्रकाशित: May 12, 2023| 12:43 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्