शनिबार, जेठ २, २०८३

आरजु चामल लिएर आए विमान व्यवसायी बस्नेत

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

आन्तरिक हवाई उडानमा निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर सञ्चालन गरिरहेका वीरेन्द्रबहादुर बस्नेतले कृषिमा पनि लगानी विस्तार गरेका छन्।

National life

निर्वाहमुखी कृषिलाई व्यावसायिकीकरण गर्ने उद्देश्यले बस्नेतले ‘आरजु राइस मिल’मार्फत विभिन्न दुई ब्रान्डका चामल उपभोक्तामाझ ल्याइका छन्। “कृषिलाई प्रविधिसँग जोडेर किसानलाई यसतर्फ आकर्षण गर्ने लक्ष्यसहित गुणस्तरीय, सस्तो र स्वादिलो चामल ल्याएका छौँ”, उनले भने, “तत्काल ‘जीरा मसिनो’ र ‘लङग्रेन’ चामल ल्याएका छौँ। आगामी दिनमा बास्मती चामल पनि ल्याउनेछौँ।”

कम्पनीले पत्रकार सम्मेलन गरी चामल बिक्री–वितरण शुभारम्भको घोषणा गरेको छ। नेपालमा उत्पादन हुने ‘रामधान’ प्रशोधन गरी उपभोक्तामाझ ल्याइएको कम्पनीका कार्यकारी अध्यक्ष बस्नेतले बताए।

बुद्ध एयरले करिब ५० करोड लगानीमा मोरङको बेलबारीमा अत्याधुनिक मिल हालै सञ्चालन ल्याएको थियो। उक्त मिलबाट उत्पादित विभिन्न ब्रान्डका चामल आजदेखि औपचारिक रूपमा बजारमा ल्याएको हो।

कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले कृषिलाई उद्योगसँग जोडेर किसानलाई प्रोत्साहन गर्ने कार्यमा कम्पनीले भूमिका खेलेको उल्लेख गरे। उनले निजी क्षेत्रबाट भएको यस किसिमको प्रयासलाई थप प्रोत्साहनका लागि मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठले सम्भावित खाद्य सङ्कटलाई मध्यनजर गरी सरकार र निजी क्षेत्रको सहकार्यमा कृषि उत्पादन र प्रवर्द्धनमा प्रभावकारी कार्यक्रम लैजानुपर्नेमा जोड दिए। उनले कृषिमा लगानीअनुसारको प्रतिफल नआइरहेको समयमा आरजु मिलले नयाँ नमूना स्थापित गरेको बताए।

नेपाल कृषि केयर कम्पनीका सञ्चालक सदस्य डा रामचन्द्र खनालले विगत १२ वर्षदेखि नेपालको पूर्वी क्षेत्रमा कृषिको व्यावसायीकरणमा कम्पनी लागेको र त्यसको प्रतिफल देखिन थालेको बताए। मोरङको कानेपोखरीका किसान दिव्यराज खतिवडा र बेलबारीका शिवनाथ धिमालले परम्परागत कृषि खेतीको सुधार गरी आधुनिक प्रणालीबाट खेती उत्पादन प्रवर्द्धनमा आरजु राइस मिलले किसानलाई सहयोग पुर्याएको बताए।
 

प्रकाशित: May 12, 2023| 06:50 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्