मनाङ– हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्म उल्लेख्य पर्यटक भित्रिएका छन्। सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा ८ हजार २२० पर्यटक भित्रिएका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को चार महिनामा ५ हजार ५६ पुरुष र ३ हजार १६३ महिलाले अन्नपूर्ण पदमार्ग यात्रा गरेका छन्।
सन् २०२३ को सुरुमै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए। सन् २०२३ को जनवरीमा ४२ देशका ३१८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश पाएको तथ्यांक छ। कोभिड संक्रमण सहज बनेपछि अहिले विश्वभरबाट पर्यटक नेपाल आउने क्रम जारी छ। नेपाल भित्रिने क्रममा उनीहरु विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन्।
पदयात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताए। जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्यांकमा उल्लेख छ। अहिले वर्षाको समय भएकाले पदमार्गको यात्रा गर्दा सम्भाव्य जोखिमबारे जानकारी गराएर पठाउने गरिएको उनले बताए।
‘पर्यटक एक्लै जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजीकार्य गर्न समस्या भएपछि सरकारले पथप्रदर्शकबिना यात्रामा जान रोक लगाएको छ। अहिले पथप्रदर्शक लिएर मात्रै पर्यटक आउने गरेका छन्’, गौतमले भने।
पथप्रदर्शक भएपछि सूचना पाउन सहज भएको उनको भनाइ छ। यात्राका क्रममा पर्यटक बिरामी परे पथप्रदर्शकको सहयोग हुने हुँदा सहज भएको पर्यटक बताउँछन्। पर्यटक आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुसी छाएको छ। पर्यटक वृद्धि हुँदा उनीहरुको आयस्तरसमेत वृद्धि हुनेछ।
पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङबासीको रीतिरिवाज, प्राकृतिक सुन्दरताको अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ तथा पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेंसीसहर नगरपालिका–७ मनाङे चौतारामा पर्छ।
अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दीसित जोडिएको छ। काठमाडौंदेखि बेंसीसहरसम्म सडक मार्ग त्यसपछि पदमार्गमार्फत पर्यटकले मनाङका विभिन्न स्थान अवलोकन गर्छन्।