शनिबार, जेठ २, २०८३

आगामी बजेटको स्रोत जुटाउन सकस : अर्थमन्त्री महत

सरकारी राजस्व कम भएको, अनुदान र ऋण पनि लक्ष्यअनुसार संकलन हुन नसकेको अवस्थामा धेरै ठाउँमा योजना दिनुपर्ने दबाब रहेको अर्थमन्त्री महतको स्वीकारोक्ति। 
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकस रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंकले आज काठमाडौंमा गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

National life

उनले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौ अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको औंल्याए। ‘हजारौं आयोजनाको ठेक्का लागिसकेको छ तर त्यसको स्रोत सुनिश्चितता गर्न समस्या छ। अहिले सबैभन्दा ठूलो सकस भनेको स्रोतको चुनौती हो,’ अर्थमन्त्री महतले भने। 

उनले सरकारी राजस्व कम भएको, अनुदान र ऋण पनि लक्ष्यअनुसार संकलन हुन नसकेको अवस्थामा धेरै ठाउँमा योजना दिनुपर्ने दबाब रहेको बताए। अर्थतन्त्रको दायरा फराकिलो बनाउन लगानी बढाउने विषय सरकारको प्राथमिकतामा रहेको अर्थमन्त्री महतको भनाइ छ।

‘लगानीलाई सहज बनाउनुको विकल्प छैन। जति लगानी बढ्छ, त्यति राजस्व बढ्छ। नियम–कानुन पालना गरेर सहज रुपमा उद्यम गर्न सक्ने वातावरण तयार पार्न सरकार कटिबद्ध छ’, उनले भने। अर्थतन्त्र सुधारका लागि नयाँ अध्याय सुरु गर्नुपर्ने बेला आएको पनि अर्थमन्त्री डा. महतले बताए।

अहिले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्नतर्फ सरकारको ध्यान केन्द्रत रहेको उनले जानकारी दिए। 
मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर घटाउनेलगायत केही काम गर्न सकिने तथा विभिन्न क्षेत्रमा नीतिगत सुधार (पोलिसी इन्टरभेन्सन) आवश्यक रहेको महतले उल्लेख गरे।

आगामी आर्थिक वर्षको बजेटबारे निजी क्षेत्रका तर्फबाट सरकारलाई सुझाव प्रस्तुत गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यक रहेको बताए। निजी क्षेत्रको सहकार्यमा आर्थिक सुधारका कार्यक्रम थाल्न सरकारले कत्ति पनि ढिलाइ गर्न नहुने उनको सुझाव छ।

‘भारत, चीन, रुवान्डा, बंगलादेशजस्ता मुलुकमा गरिबी तीव्र रुपमा घट्नुको कारण भनेको निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउनु हो’, ढकालले भने, ‘अब आउने नीतिले त्यो आँट गर्नुपर्छ। हामी यत्तिकै बस्यौं भने अर्थतन्त्रमा सुधार हुँदैन।’ 

अर्थतन्त्र सुधारको प्रयास मौद्रिक नीतिको चाँथो त्रैमासिक समीक्षा, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमार्फत गरिनुपर्ने सुझाव ढकालको छ। स्वदेशी तथा विदेशी लगानीलाई बढाउन जरुरी रहेको पनि उनले बताए।

‘अहिलेको हाम्रो प्राथमिकता भनेको स्वदेशी र विदेशी लगानीलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्नु हो। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउने, एकद्वार केन्द्र स्थापना गर्नेलगायत काम गर्दा पनि लगानी बढ्न सकेको छैन। यसबारे सरकार गम्भीर हुन जरुरी छ’, अध्यक्ष ढकालले भने।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताए। आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्न सके मात्रै त्यो दिगो हुने उनको भनाइ छ।

प्रकाशित: May 10, 2023| 12:39 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्