बिहीबार, भदौ ४, २०८३

नक्कली शरणार्थी प्रकरण

बालकृष्ण खाण पक्राउले जगाएको आशा

यसअघिका बालुवाटार जग्गा, ओम्नी, वाइडबडी, माओवादी लडाकु शिविरमा भएका अर्बौं रुपैयाँ अनियमितताका शृंखलालाई शीर्ष नेतृत्वको सहमतिमा गुपचुप पारिए पनि नक्कली शरणार्थी प्रकरणलाई निचोडमा पुर्‍याउनैपर्ने दबाब बढेको छ।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- सत्तारुढ कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा मुछिएको दसीप्रमाणपछि प्रहरीले पक्राउ गरेसँगै राजनीतिक सहमतिका नाममा हुने ठूलाखाले अनियमिततामा ब्रेक लाग्ने आश जगाएको छ। यद्यपि अहिले नै सबै कुरा बाहिर आइसकेको छैन।

प्रजातन्त्रको नाममा मिलेरै राज्य दोहन गर्ने ठूला राजनीतिक दलहरूको एकाधिकारमाथि संसद् र नागरिक स्तरबाट विरोध भएपछि भ्रष्टाचार काण्डका फेहरिस्तहरू लहरोझैं फराकिला हुँदै गएका छन्।

राजनीतिलाई पेसा बनाएर भुइँतहका नागरिक र समाजमा हैकम जमाउने राजनीतिक नेतृत्वले कुनै बेला आफू कानुनी फन्दामा परिन्छ भन्ने बिर्सिंदाको परिणाम पूर्वगृहमन्त्री खाणको सन्दर्भमा हुबहु मेल खान्छ। सुरक्षासँग सम्बन्धित गृह प्रशासन हाँकेका मन्त्रीले आफ्नी अर्धांगिनीलाई अगाडि सारेर कमाउ धन्धामा लागेको सजाय अब खाणले भोग्नुपर्नेछ।

पद र प्रतिष्ठामा पुगेपछि राज्य र नागरिकलाई दोहन गर्ने राजनीतिक दलका नेताहरूको चरित्र यो घटनाले उदांगिन पुगेको छ। राज्यलाई ब्रह्मलुट गर्ने तीन ठूला दल कांग्रेस, एमाले र माओवादीबीच तीव्र प्रतिस्पर्धा चलिरहेको समय उब्जिएको नक्कली शरणार्थी प्रकरणलाई बिसौनीमा लैजान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठहरूले राजनीतिक लाभहानि नहेरेर काम गर्नु पर्नेछ।

यसअघि माओवादी लडाकु शिविरमा भएको घोटाला, वाइडबडी, बालुवाटार जग्गा काण्ड, बूढीगण्डकी आयोजनामा भएको अर्बौं, करोडौंको अनियमितता शीर्ष नेतृत्वको दलीय सहमतिका आधारमा गुपचुप पारिए पनि अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई नागरिकले खबरदारी गरिरहेकाले फासफुस हुन दिन नहुने दलका नेताहरूले भनिरहेका छन्। ठूला दलका शीर्ष नेताका अर्धांगिनीसहित ‘खास’मान्छेहरू पक्राउ पर्न थालेपछि पछिल्लो समय सिंहदबार र बालुवाटारमा राजनीतिका नाममा बाक्लै भेटघाट भइरहेका छन्। यसले भने नागरिकलाई आशंकित तुल्याएको छ।

यसअघिका बालुवाटार जग्गा, ओम्नी, वाइडबडी, माओवादी लडाकु शिविरमा भएका अर्बौं रुपैयाँ अनियमितताका शृंखलालाई शीर्ष नेतृत्वको सहमतिमा गुपचुप पारिए पनि नक्कली शरणार्थी प्रकरणलाई निचोडमा पुर्‍याउनैपर्ने दबाब बढेको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका, युरोपलगायतका देश पठाउँदै आएको पछिल्लो प्रकरण यसअघिका काण्डजस्तै उच्च तहबाट मिलाइन सक्ने आशंका बढिरहेको छ। हिजोको संसद् बैठकमा समेत यस घटनालाई ढाकछोप गर्न शीर्ष नेतृत्वले जोडबल गरिरहेको विषयप्रति सांसदहरूले आपत्ति जनाइसकेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवापत्नी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण दम्पती, एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलहरूले नक्कली शरणार्थी धन्धालाई वैधानिकता दिएर अर्बौं, करोडौं रुपैयाँ उठाएको घटना दसीप्रमाणहरूले देखाइरहेका छन्। नक्कली शरणार्थी प्रकरणमा मुछिएका केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ। अहिलेसम्म घटनामा संलग्न भएका भनिएका कांग्रेस नेता खाण समातिए पनि एमाले नेताहरू पक्राउमा परेका छैनन्।

पक्राउ परेकाहरूको बयान र पीडितले दिएको उजुरीका आधारमा यो धन्धा राजनीतिक नेतृत्वको सहमतिबिना गरिएजस्तो देखिँदैन। प्रहरीले हिजो मात्रै नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई बिचौलियालाई काठमाडौंबाट पक्राउ गरेको छ।

काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो। उनीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ।

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन्। पक्राउ पूर्जी जारी भएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिले सम्पर्कमा नभएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिएका छन्। उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन्।

भुटानी शरणार्थीलाई देखाएर लुट धन्धा
सन् १९९० मा तत्कालीन भुटानी सरकारले नेपालीभाषी भुटानीलाई प्रजातन्त्र मागेको निहुँ बनाएर शारीरिक र मानसिक यातना दिनुका साथै उनीहरूलाई देश छाडेर जान बाध्य पारेको थियो। आफ्नै भूमिबाट निर्वासित भएका नेपालीभाषी भुटानी ठूलो संख्यामा नेपाली सीमामा प्रवेश गरे र यहाँ शरणार्थी जीवन बिताउन थाले।

सुरुमा झापा, मोरङलगायतका पूर्वी जिल्लामा अव्यवस्थित ढंगले बसोबास गरेका ती भुटानी शरणार्थीका लागि पछि झापाको बेलडाँगी, गोलधाप, खुदुनाबारी, तिमाई र मोरङको शनिश्चरे र पथरीमा अस्थायी शिविर खडा गरिएका थिए। सात वटा शिविरमा बसेका भुटानी शरणार्थीलाई उनीहरूको देश फर्काउन नेपाल र भुटानबीच पटक–पटक वार्ता भए। तर भुटानले उनीहरूलाई फिर्ता लिन मानेन।

त्यसपछि अन्तर्राष्ट्रिय समुदायको सहयोगमा नेपालले उनीहरूलाई तेस्रो देशमा पुनर्वास गराउन सुरु गरेको हो। सन् २०१९ सम्ममा नेपालबाट १ लाख १३ हजार ३०७ जना भुटानी शरणार्थी अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत, नेदरल्यान्ड्सलगायत मुलुकमा पुगिसकेको गृह मन्त्रालयस्थित शरणार्थी शाखाको सरकारी तथ्यांकमा उल्लेख छ। तेस्रो देश पुनर्वासपछि पनि नेपालमा केही भुटानी शरणार्थी बाँकी छन्। 

सन् २०१२ पछि शरणार्थीको परिचयपत्र वितरण गर्न बन्द गरिएको शरणार्थीको संख्या करिब ६ हजार ६ सय हुन सक्ने सरकारी आँकडा छ। सरकारले ३० जेठ २०७६ मा गृहमन्त्रीस्तरीय निर्णयबाट नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको अवस्था र उनीहरूको तेस्रो देश पुनर्वासबारे राय–परामर्शका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल गठन गरेको थियो।

पक्राउ परेकाहरूको बयान र पीडितले दिएको उजुरीका आधारमा यो धन्धा राजनीतिक नेतृत्वको सहमतिबिना गरिएजस्तो देखिँदैन।

रामबहादुर थापा ’बादल’ गृहमन्त्री थिए भने हाल अख्तियार प्रमुख रहेका प्रेमकुमार राई गृहसचिव थिए। पन्थी कार्यदलले तयार पारेको रिपोर्टमा युएनएचसीआरले नै प्रमाणीकरण गरेका ४२९ जनालाई शरणार्थीका रूपमा पहिचान गरिएको छ। तर यो सूचीमै केही नक्कली शरणार्थीको नाम घुसाइएको बताइन्छ। सोही प्रकरणपछि राजनीतिक दलहरूका केही नेताहरूले यसलाई आम्दानीको गतिलो स्रोत बनाएको संकेत देखिँदै छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै विश्वासमा पारेर ठगी गर्ने गिरोह २०७६ देखि नै सक्रिय भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। गिरोहकै योजनाअनुसार छुटेका शरणार्थीहरूको सूची बनाउन कार्यदल गठन गरिएको र त्यसैमा नक्कली शरणार्थीको नाम घुसाइएको पनि अनुसन्धानले देखाएको छ। बिचौलियाको भूमिकामा रहेका व्यक्तिलाई नै कार्यदल सदस्य बनाइएको प्रहरी अनुसन्धानले देखाएको छ। 

प्रहरीका अनुसार त्यतिबेला नक्कली भुटानी शरणार्थीका रूपमा समेटिएकामध्ये ८१ जनाबाट उक्त गिरोहले १३ करोड ६३ लाख बढी ठगी गरेको पीडितको किटानी जाहेरीबाट देखिन्छ। १८ जेठ २०७९ मा पीडितद्वय गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले यो प्रकरणमा अनुसन्धान अघि बढाएको हो। प्रहरीका अनुसार अहिलेसम्म परेका जाहेरीबाट साढे २३ करोड बराबर रकम ठगिएको देखिन्छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै विश्वासमा पारेर ठगी गर्ने गिरोह २०७६ देखि नै सक्रिय भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीले १३ चैत २०७९ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार यो घटनामा मन्त्रालयका तत्कालीन पदाधिकारी र शरणार्थी समस्या समाधानसम्बन्धी कार्यदलका सदस्यको समेत मिलेमतो रहेको आशंकामा थप अनुसन्धान भइरहेको उल्लेख छ।

घटनामा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाण, उनकी पत्नी सांसद मञ्जु, कांग्रेस सांसद आरजु राणाको नाम पनि मुछिएको छ। राणा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी हुन्।

प्रहरीले एक उजुरीकर्तामार्फत प्राप्त गरेको अडिओमा खाण र राणालाई पैसा बुझाएको दाबी गरिएको छ। अडिओ क्लिपमा पीडितले भनेका छन्, ‘आरजुलाई साढे दुई करोड बुझाएको हो । ६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो। मञ्जुदेवीले बुझ्नुभएको हो, घरमा। हनुमानथानमा घर छ, त्यहाँ बुझ्नुभएको हो।’

अडियो प्रकरणपछि पूर्वगृहमन्त्री खाणको संलग्नताबारे अनुसन्धान गरिरहेको प्रहरीले आज उनलाई पक्राउ गरेको हो। खाण गृहमन्त्री भएका बेला बेला पक्राउ परेका नक्कली भुटानी शरणार्थी गिरोहका दुई सदस्यलाई छुटाउन मद्दत गरेको पूर्वएआईजी विज्ञानराज शर्माले दाबी गरेका छन्।

कांग्रेसभित्र खैलाबैला
सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रमेशजंग रायमाझीले नक्कली शरणार्थी प्रकरणमा फरार रहेका एमाले नेता टोपबहादुर रायमाझीलाई लक्षित गरी अन्टसन्ट बोले। उनले टोपबहादुर एमाले अध्यक्ष केपी ओलीका झड्केला छोरा भएकाले उनैले लुकाएर राखेको आरोप लगाए। रमेशजंगले आफ्नै नेता बालकृष्ण यो प्रकरणमा मुछिएका छन् भन्ने हेक्का राखेनन्। आजै बालकृष्ण यो प्रकरणमा पक्राउ परेपछि कांग्रेसभित्र भूकम्प गएको छ।

खाणलाई बुधबार बिहान प्रहरीले राजधानीको चुच्चेपाटीबाट पक्राउ गरेको हो। खाणलाई पक्राउ गरिएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ। शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए। 

खाण पक्राउपछि कांग्रेस नेताले निष्पक्ष छानबिनका लागि पार्टीले सहयोग गर्ने प्रतिक्रिया दिएका छन्। कांग्रेस नेता शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताए। गृहनगर विराटनगरमा रहेका कोइरालाले पत्रकारसँग कुरा गर्दै दोषीले सजाय पाउनुपर्ने तर निर्दोष फस्न नहुने धारणा व्यक्त गरे। उनले भने, ‘जो–जो दोषी हो, उनीहरूलाई कारबाही हुनपर्छ, यसमा इफ र बटको कुरै छैन। उनीहरूले पनिसमेन्ट पाउनुपर्छ। यसमा राजनीतिक दबाब हुनुहुँदैन।’ 

सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रमेशजंग रायमाझीले नक्कली शरणार्थी प्रकरणमा फरार रहेका एमाले नेता टोपबहादुर रायमाझीलाई लक्षित गरी अन्टसन्ट बोले। उनले टोपबहादुर एमाले अध्यक्ष केपी ओलीका झड्केला छोरा भएकाले उनैले लुकाएर राखेको आरोप लगाए।

कांग्रेस सह–महामन्त्री महेन्द्र यादवले कांग्रेसले निष्पक्ष छानबिनका लागि सहयोग रहने बताए। उनले भने, ‘प्रहरीले अनुसन्धान गर्दै छ। अदालतले एउटा फैसला गर्ला। हामी निष्पक्ष छानबिनको पक्षमा छौं।’

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले दोषीलाई उम्काउने खेलमा कांग्रेस नलाग्ने दाबी गरे। ‘यो हाम्रो मात्र चासोको विषय होइन। राष्ट्रिय–अन्तर्राष्ट्रिय चासोको विषय हुन्छ। हामीले निष्पक्ष छानबिनका लागि अनुरोध गर्नुपर्छ। दोषीलाई उम्काउने खेलमा कांग्रेस लाग्दैन।’

नक्कली शरणार्थी प्रकरणको विषयलाई लिएर मुख्य दलका शीर्ष नेतृत्वबीच लेनादेना नहुने हो भने राजनीतिले सफा हुन मौका पाउनेछ। यो विषयलाई नागरिकता प्रकरणमा परेर गृहमन्त्री, पार्टी अध्यक्ष र सांसद पद गुमाएर पुनः सांसद बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीति सफा बनाउन जोकसैलाई छाड्न नहुने सुझाव सरकारलाई दिएका छन्। उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजीलाई खुट्टा नकमाई भ्रष्टाचारविरुद्ध अघि बढ्न आग्रह गरेका छन्।

 

प्रकाशित: May 10, 2023| 12:25 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्