काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म ११ जना पक्राउ परेका छन्। अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ११ जना समातिएका हुन्।
उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट आज प्रहरीले पक्राउ गरेको हो। यसअघि मंगलबार काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।
त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ।
उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ। जिल्ला प्रहरी परिसरले उनीविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।
उक्त घटनामा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन्। उनीहरूले २३ करोड २५ लाख ठगी भएको प्रहरीमा जाहेरी दिएका छन्।