काठमाडौं- नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुईजनालाई नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गरेका छन्।
यो प्रकरणबारे टिकटकमा शर्माले भिडियो पोष्ट गरेका छन्। केपी ओली नेतृत्वको सरकारका पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने योजना बनाएको गिरोहले उनको सरकार ढलेपछि प्रहरीमा उजुरी गरेको उनको दाबी छ।
उजुरी आएपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले दुईजना अभियुक्तलाई पक्राउ गरेको उनले बताएका छन्। त्यतिबेला खाण गृहमन्त्री थिए। शर्माले भनेका छन्, ‘त्यतिबेला राजनीतिक दबाबमा ती दुईलाई छोडिएको थियो।'
शर्माले थप भनेका छन्-
सानु भण्डारीले अहिले फरार रहनुभएका उपप्रधानमन्त्री (टोपबहादुर रायमाझी) लाई मामा भन्थ्यो। उहाँसँग नजिक भयो। (रायमाझीले) सहज गरिदिएको भन्नुहुन्थ्यो। सहजीकरण मात्र गरिदिएको भए अहिले किन फरार हुनुपर्थ्यो? अगाडि आएर आफ्नो कुराहरू भनेको भए हुन्थ्यो। उहाँको छोरा उहाँसहित भएपछि आत्मबल बढ्यो अनि अगाडि बढेको काम गर्न थाले। काम गर्न थालेपछि पैसा दिन सक्ने नक्कली शरणार्थी खोज्न थाले। पूर्वमा झापा मोरङ, पश्चिममा दाङ, प्युठान, सल्यान, मोरङ, रूकुम, रोल्पा, गोरखामा मान्छे खोज्न थाले।
यो बीचमा रामबहादुर थापा पनि गृहमन्त्री भए। इन्द्रजित राई सुरक्षा सल्लाहकार भए। राईसँगै रामबहादुर थापाका छोरा पनि त्यसमा संलग्न हुन थाले। पीडितहरुलाई फोटो देखाएर पनि आश्वस्त पार्न थालियो। त्यतिखेर बादलको छोरा र तत्कालिन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा (दिपेश पुन) मिलिभगतमा गृह प्रशासनमा नराम्रो हस्तक्षेप थियो भने कुरा सर्वविदितै छ। इन्द्रजित राई आउपछि गृह प्रशासन थप मिल्न थाल्यो।
कति शरणार्थी छुटेको भन्ने पत्ता लगाउन त्यतिबेला सहसचिवको संयोजकत्वमा गठित कार्यदलका तीन जना गएका हुन्। ४२९ जना छुटेको नामावली उनीहरूले ल्याए। त्यसमै १२५ जना विचौलियाहरूले थपेका पाइएको थियो।
त्यसपछि एमालेको सरकार ढल्यो। शेरबहादुर देउवाको सरकार आएपछि हल्लीखल्ली भयो। पैसा पनि लिइसकेको थियो, केही पैसा पनि फिर्ता गरे। पैसा फिर्ता नहुनेहरू प्रहरीमा उजुरी लिएर गए। त्यतिखेर प्रहरीले दुई जनालाई समातेको थियो। पछि राजनीतिक दबाबमा छोडेको हो।