काठमाडौं- सरकारले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयबाट सचिव भट्टराईलाई गृह सचिवको जिम्मेवारी दिएको हो।
भट्टराई दाङ, बारा, उदयपुर, मकवानपुरलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी भएका छन्। गृह मन्त्रालयमा हुँदा विभिन्न महाशाखा र कार्यालय प्रमुख भएर सचिव भट्टराईले काम गरेका थिए। भट्टराई छिटो र प्रभाकारी ढंगले कार्यसम्पादन र निर्णय गर्न क्षमता राख्ने सचिवका रुपमा चिनिन्छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणले उत्कर्षमा पुगेका बेला सरकारले गृह सचिवको हेरफेर गरेको हो।
यस अगाडिका गृह मन्त्रालयमा रहेका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेपछि सिंहले गृह सचिवको जिम्मेवारी पाएका थिए।