शनिबार, जेठ २, २०८३

हिमाल आरोहणबाट उठ्यो ७४ करोड राजस्व

 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन्। सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ।

National life

यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन्। विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म रु रु ७४ करोड छ लाख राजस्व संकलन भएको छ। 

सगरमाथाबाट मात्रै ६५ करोड पाँच लाख राजस्व जम्मा भएको छ। सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट दुई करोड ८३ लाख र मकालु हिमालबाट एक करोड ३६ लाख संकलन भएको छ। पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहण इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको र आरोहीको सङ्ख्या बढेसँगै राजस्व संकलन पनि बढेको बताए। नेपालमा आठ  हजार मिटर उचाइभन्दा माथिका आठ हिमशृङखला छन्।

पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन्। यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत कोइरालाले जानकारी दिए। अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा आरोहणको प्रतिक्षामा छन्।       

सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले बाटो बनाइसकेका छन्। सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ। यही वैशाख १० गते नै सगरमाथाको चाँथो शिविरसम्म बाटो खुलाइए पनि प्रतिकूल मौसमका कारण आइसफल डाक्टरले चुचुरोसम्म बाटो पुर्याउन कठिन भइरहेको छ। उनीहरु एकसाता बढीसमयदेखि आधार शिविरमा छन्। 

सगरमाथाको सात हजार पाँच सय मिटरमाथि क्षेत्रमा तीव्र वेगको हावा चलिरहेकाले आरोहणलाई निरन्तरता दिन नसकिएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको ‘इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनी’ले जनाएको छ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाएको थियो। सगरमाथाको साउथ कोलसम्म यही वैशाख १० गते नै बाटो खुलिसकेको थियो। वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका एक सय २६ आरोही समूहका दुई सय ५४ महिला र आठ सय ६९ पुरुष गरी कूल एक हजार एक सय २३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ। 

प्रकाशित: May 09, 2023| 16:05 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्