काठमाडौं- कुनै बेला सामुदायिक विद्यालयको वालभित्रै विद्यार्थीको चहलपहल अधिक हुन्थ्यो। कक्षाकोठाभित्रको होहल्लाले आजित हुन्थे, शिक्षक। तर यतिबेला प्रायः सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी नहुँदा बेफुर्सदिला छन्।
भर्ना अभियानले पनि विद्यार्थी तान्न नसकेपछि कतिपय विद्यालयका शिक्षक निराश छन्। तर केही यस्ता विद्यालय पनि छन्, जसले सामुदायिकको साख जोगाइराखेका छन्। यस्ता विद्यालयमा शिक्षकका छोराछोरीदेखि समुदायका बालबालिका अध्ययनरत छन् र निजीभन्दा अब्बल छन्।
विद्यालय सञ्चालनका लागि फरक रणनीति
गुणस्तरीय शिक्षा दिन नसकेर सामुदायिकको साख खस्किँदै गएको भन्दै सबैले सरकार र शिक्षकलाई दोषारोपण गर्दै आए पनि हाम्रै समुदायमा यस्ता विद्यालय पनि छन्, जसका प्रधानाध्यापकले आफ्नो मिहिनेत, फरक रणनीतिको भरमा शिक्षण संस्थालाई समुदायकै उत्कृष्ट विद्यालयमा परिणत गराइदिएका छन्।
नयाँ रणनीतिले विद्यालयलाई पुनर्जीवन प्रदान गरेका त्यस्ता कर्मशील प्रधानाध्यापकबाट सरकारले प्रदान गर्ने थोरै राहतले विद्यार्र्थीका लागि व्यवस्थित र आधुनिक विद्यालय बनाइएका छन्। त्यहाँका विद्यार्थी निजी विद्यालयको दाँजोमा कमजोर देखिएका छैनन्। बरु प्रतिस्पर्धामा अब्बल ठहरिएका छन्।
यस्तै विद्यालयमध्ये एक हो– तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय। विद्यालयका प्रधानाध्यापकदेखि शिक्षक र कर्मचारीका छोराछोरी आफ्नै विद्यालयमा पढाएर शिक्षाको गुणस्तर सुधार प्रयास गर्ने प्रधानाध्यापक हुन्, इन्द्रप्रसाद पौडेल।
दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय व्यास–२ का प्रधानाध्यापक पौडेलले खस्कँदो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा कार्यरत सबै शिक्षक–शिक्षिकाका छोराछोरीलाई आफ्नो विद्यालयमा पढाउने प्रस्ताव गरे।
यद्यपि सरकारले समेत विद्यालय शिक्षक, कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने प्रस्ताव गरेको छ। यद्यपि सरकारी उर्दी पूर्ण रुपमा लागू हुन सकेको छैन। तर प्रधानाध्यापक पौडेलको प्रस्तावपछि हाल २०१ शिक्षक र कर्मचारीका छोराछोरी सोही विद्यालयमा अध्ययनरत छन्।
पौडेल शैक्षिक गुणस्तर सुधार्न ‘विद्यार्थी लगबुकको’ व्यवस्थादेखि परियोजनामा आधारित सिकाइका साथै प्रयोगात्मक शिक्षामा विशेष जोड दिइएको बताउँछन्। बन्द र हड्ताल भएको दिनमा समेत उचित व्यवस्था गरी विद्यालय सञ्चालन गर्दै आएको उनले बताए।
२०३३ मा स्थापना भएको उक्त विद्यालयले एसएलसी नतिजाको आधारमा चार पटक पश्चिमाञ्चल विकास क्षेत्रमा प्रथम उत्कृष्ट स्थान प्राप्त गरेकाले वीरेन्द्र विद्या क्षेत्रीय सिल्डसमेत हात पारिसकेको छ।
कक्षा हुँदै खेतबारीसम्मको सिकाइ
दैलेखको चामुण्डा विन्द्रासनीस्थित चामुण्डा माध्यमिक विद्यालयले विद्यार्थीलाई कागजी शिक्षाको साथै व्यावहारिक शिक्षा दिँदै आएको छ। खस्किँदै गएको विद्यार्थी संख्यालाई नियन्त्रण गर्न व्यावहारिक शिक्षामा जोड दिइएको विद्यालयका प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना बताउँछन्।
२०३९ मा स्थापना भएको विद्यालयमा पाँच वर्षअघि ६०० विद्यार्थी थिए। तर उक्त संख्या विस्तारै ओरालो लाग्न थालेपछि प्रधानाध्यापक तथा व्यवस्थापन समितिले सिकाइलाई कक्षाकोठामा मात्र सीमित नराखी खेतबारी र गाउँबस्तीमा पुर्याउने हुने निर्णय लिए।
प्रधानाध्यापकले शिक्षालाई प्रयोगात्मक रुपमा श्रम तथा आयआर्जनसँग जोड्दा आकर्षण बढ्ने अनुमान गरे। कक्षाकोठामा दैनिक समस्यालाई सिकाइको माध्यमबाट सञ्चालन गराउँदा प्रभावकारी भएको र विद्यार्थी संख्यासमेत बढ्दै गएको प्रअ तिमिल्सेना बताउँछन्।
विद्यालयमा हाल ९०० बढी विद्यार्थी अध्ययनरत छन् भने प्रयोगात्मक ल्याब, कम्प्युटर ल्याबदेखि हस्तनिर्मित सामग्री, च्याउ तथा तरकारी खेतीलगायत व्यावहारिक शिक्षासहित पढाउँदा चाँडै सिक्नुका साथै विद्यालयप्रति नागरिकमा आकर्षण बढ्दो रहेको प्रअ तिमिल्सेनाको अनुभव छ। यसमा स्थानीय तहले समेत अपनत्व लिएर काम गरिरहेकाले स्रोत–साधन जुटाउन सहज भएको उनले बताए।
प्राविधिक विषयको पठनपाठनमा रमाउँदै रोल्पा
रोल्पा लिवाङस्थित बालकल्याण नमुना माविमा प्रधानाध्यापक मधुसूदन पोखरेलले आफ्नासहित विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीका छोराछारी सोही विद्यालयमा पढाउने नियम अवलम्बन गरे।
निजी विद्यालय रोल्पामा नभएका होइनन् तर आफ्ना बालबालिकालाई सोही विद्यालयमा पढाउँदा शिक्षकदेखि कर्मचारी विद्यालय शिक्षाप्रति प्रतिबद्ध हुने प्रअ पोखरेलको बुझाइ छ। यसले सरकारी विद्यालयप्रति समाजको दृष्टिकोणसमेत क्रमशः बदलिने थालेको उनको अनुभव छ।
२०२३ मा स्थापना भएको बालकल्याण नमुना मावि हाल कक्षा १ देखि १२ सम्म सञ्चालनमा छ भने यहाँ प्राविधिक विषयको पठनपाठनमा विद्यार्थी आकर्षण उच्च छ। प्रअ पोखरेलले हाल विद्यार्थी संख्या २ हजार ४०० बढी रहेको प्रअ पोखरेलले जानकारी दिए। उनले विद्यालयमा सात वर्षअघि १ हजार ६०० मात्रै विद्यार्थी रहेको तथ्यांक देखाए। यसले पनि सामुदायिक विद्यालयप्रति अभिभावको विश्वास बढेको उनी बताउँछन्।
विद्यालयको प्रावि तहको सिकाइ उपलब्धि ६९.१६ प्रतिशत रहेको प्रअ पोखरेलले जानकारी दिए। उनले आधारभूत कक्षा ६ देखि ८ को सिकाइ उपलब्धि ६३.५५ र माविको ६३ प्रतिशत रहेको बताए।
मधेसकै अब्बल सामुदायिक विद्यालय
फरक शैली अपनाएर जनकपुरको नमुना विद्यालयलाई समेत उछिन्ने विद्यालय हो, जनकपुरस्थित संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालय। मधेस प्रदेशमा प्रायः सामुदायिक विद्यालय विद्यार्थी नपाएर बन्दावस्थामा पुगेका छन्। तर जनकपुरस्थित संकटमोचनमा भने आफ्ना नानीबाबुको भर्नाका लागि अभिभावकको लामै देख्न सकिन्छ।
विद्यालयका प्रधानाध्यापक बलिराम साह भन्छन्, ‘कारण एउटै हो, सुरक्षित वातावरणमा प्रभावकारी सिकाइ। शिक्षण सिकाइलाई पहिलो प्राथमिकतामा राखेका छौं। हामीले प्रत्येक कक्षामा ‘फाइभ–टी’ ढाँचाको आधारमा पढाउन थालेका छौं र यसले प्रभावकारी नतिजा दिएको छ।’
पाँच ‘टी’ को फर्मुला
‘पाँच ‘टी’भनेको सिकाइलाई पूर्णता दिने फर्मुला रहेको साह बताउँछन्। उनी भन्छन्, ‘पहिलो (टिच) अर्थात् शिक्षण गर्ने तौरतरिका, जसमा कक्षाको अवस्था हेरेर शिक्षकले शिक्षण गर्नुपर्ने हुन्छ। दोस्रो, (टङ) बोलाइ अर्थात् राम्ररी बुझ्ने भाषामा सिकाइ गराउनुपर्ने। तेस्रो ‘टी’ अर्थात् (टेक्स्ट) सामग्री, जसमा बालबालिकाको हातमा उपयुक्त किताब पुर्याउने गरेका छौं। चौथोमा (टाइम) समय, शिक्षण समयको कक्षाकोठामा अधिकतम उपयोग र पाँचौंमा (टेस्ट) परीक्षण अर्थात् मूल्यांकनको प्रत्याभूति र सञ्चारको आधारमा पठनपाठन गरिँदै आएको छ।’
उनी शिक्षकले बोलेका कुरा विद्यार्थीले राम्ररी बुझे भने कक्षा नछाड्ने र गृहकार्य गर्ने अनुभव रहेको सुनाउँँछन्। यतिबेला संकटमोचन विद्यालय मधेस प्रदेशको सबैभन्दा ‘स्मार्ट विद्यालय’को रुपमा छनोट भएको छ। विद्यालयले, शिक्षामा कमजोर र सघन सिकाइको आवश्यकता रहेका विद्यार्थी समूह पहिचान गरेर ‘सुस्तरी सिकाइ’ नाम दिएर त्यस्तो अवस्थाको बालबालिकालाई विस्तारै बुझाएर सिकाउने गरेको छ।
शिक्षाविद् धनञ्जय शर्मा भन्छन्, ‘कुनै पनि सामुदायिक विद्यालय नराम्रा हुँदैनन्। विद्यालय भनेको ज्ञानार्जन गर्ने स्थल हुन्। तर त्यहाँका शिक्षक, कर्मचारी, प्रअले त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नजानेर अथवा नसकेर बिगार्दै लगेका छन्। समयअनुसारको गुण्स्तरीय शिक्षा र अनुशासनले नै सामुदायिक विद्यालयको मुहार फेर्न सक्छ। त्यसका लागि सरकारलाई दोष लगाएर हुँदैन, आफैंले प्रयास गरे हुन्छ।’
शिक्षाविज्ञ डा. हरि लम्साल देशमा सधैं राजनीतिले शिक्षा बिग्रियो भनिए पनि शिक्षण वा सिकाइ बिग्रनुको कारण कक्षाकोठामा शिक्षकको नपढाउने प्रवृत्ति रहेको औंल्याउँछन्। उनी थप्छन्, ‘शिक्षक कि सरकारका छन् कि पार्टीका, विद्यालयका शिक्षकै छैनन्।’ यस्तोमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिँदैन।’
लम्सालका अनुसार सामुदायिक विद्यालयप्रति प्रतिबद्ध केही यस्ता शिक्षक छन्, जसले राम्रै गरेका छन् र पुरस्कृत भएका छन् भने शिक्षण सिकाइलाई अब्बल बनाएकै कारण निजी बोर्डिङबाट अभिभावकले आफ्ना सन्तानलाई सामुदायिकतिर लैजान लागेका छन्।