सोमबार, साउन ५, २०८२

डेंगुका कारण सुर्खेतमा १ वर्षमा ४ जनाको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

 |  सोमबार, साउन ५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०८२

vianetvianet

सुर्खेत- सुर्खेतमा गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा डेङ्गीका कारण चार जनाको मृत्यु भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेतमा गत आवमा एक हजार ८३७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा चार जना मृत्यु भएको हो। 

जनस्वास्थ्य सेवा कार्यालयका डेङ्गी रोग निवारण सम्पर्क व्यक्ति उदय बिसीले यहाँ रहेक वर्ष सङ्क्रमणको जोखिम बढ्दै गएको बताउनुभयो। आव २०७७/७८ मा ६३९ जना सङ्क्रमित भएकामा २०७८/७९ मा त्यो सङ्ख्या बढेर एक हजार ३२२ पुगेको र आव २०७९/८० मा एक हजार ४८४ जना सङ्क्रमित भएका उनले जानकारी दिए। 

आव २०८०/८१ मा भने सङ्क्रमण केही घरेको थियो। त्यस वर्ष ५७१ जनामा सङ्क्रमण देखिएको थियो। 

तीन नगरपालिका उच्च जोखिममा
यहाँका वीरेन्द्रनगर, पञ्चपुरी र गुर्भाकोट नगरपालिका डेङ्गीको उच्च जोखिममा छन्। जोखिमलाई मध्यनजर गरी ती क्षेत्रहरूमा सचेतना अभियान तीव्र पारिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। विशेषगरी साउनदेखि कात्तिक महिनासम्मलाई सङ्क्रमणको संवेदनशील समय मानी ‘सचेतना महिना’का रूपमा कार्यक्रमहरू सञ्चालन गरिने सम्पर्क व्यक्ति बिसीले बताए। 

“प्रत्येक शुक्रबार ‘सरसफाइ शुक्रबार’ नारासहित कार्यालय, विद्यालय र सामुदायिक ठाउँमा सरसफाइ तथा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गरिने योजना रहेको उनले सुनाए।  

स्थानीयले यस अभियानमा समुदायलाई सँगसँगै अगाडि बढाउन आग्रह गरेका छन्। सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले सहरका व्यावसायिक क्षेत्रहरूमा सरसफाइको ख्याल नगरेसम्म सङ्क्रमण नघट्ने भन्दै निजी क्षेत्रले पनि अभियानमा हातेमालो गर्ने बताए। 

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका उपाध्यक्ष सुशील खड्काले सचेतना अभावले महामारीको रूप लिन सक्नेतर्फ सचेत हुनुपर्ने बताए। उनले सञ्चारकर्मीहरूले जनचेतना अभिवृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। 

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी प्रमुख करुणा भण्डारीले स्थानीय तहसँगको सहकार्यमा अभियानलाई प्रभावकारी बनाइने बताए। यसका लागि टोल विकास समिति, नागरिक समाज र विद्यालयहरूसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम विस्तार गरिने कार्ययोजना बनाइएको उनले जानकारी दिए।

प्रकाशित: Jul 21, 2025| 10:31 सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्