काठमाडौं- पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले बजेट निर्माण गर्दै गरेको सरकारलाई मुलुकको वर्तमान आर्थिक धरातल हेर्न आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८०–८१ को विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै उनले बजेटको सिद्धान्त र प्राथमिकता मुलुकको अर्थतन्त्रको वास्तविकतामा आधारित हुनुपर्ने बताए।
उनले भने, ‘अहिलेको मुलुकको अर्थतन्त्रको वास्तविकता के हो? यसका पछाडिका चुनौतीहरु के–के हुन्। सरकारले यसलाई ख्याल गर्न आवश्यक छ। केही दिनअघि मात्र राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको आर्थिक वर्षको आर्थिक वृद्धिदरले राम्रो संकेत गरेको छैन। आर्थिक वृद्धिदर ऋणात्मकतामा जाने खतरा देखिएको छ।’
यतिमात्र नभएर वर्तमान आर्थिक सूचकहरु नकारात्मक भएको भन्दै पौडेलले यसको उपचारमा सरकारको सिद्धान्त र प्राथमिकता चुकेको उनले आरोप लगाए। चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिले मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशतको महत्वकांक्षी लक्ष्य लिए पनि तथ्यांकले २.१६ प्रतिशतमात्र हुने देखाएकाले यस्तो हचुवाको प्रक्षेपण नगर्न पनि पौडेलले सरकारलाई आग्रह गरे।