काठमाडौं– सिटी होटलले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले पहिलो चरणमा २१ चैतबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुलाएपछि आज सर्वसाधारणका लागि खुलाएको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निष्कासनमध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ६६ हजार ९६० कित्ता कर्मचारी र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। सर्वसाधारणका लागि छुट्याइएको सेयर १ लाख ३५ हजार ५९४ जनाले १०–१० कित्ताका दरले पाउनेछन्। कम्पनीले सोल्टीमोड काठमाडौंमा पाँचतारे होटल ह्यात प्यालेस सञ्चालन गरिरहेको छ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। २८ वैशाखसम्म इच्छुकले आवेदन दिन सक्ने आईपीओमा सेयर बिक्री नभए ८ जेठसम्मको समय रहने कम्पनीले बताएको छ।