काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका दुवै पक्ष महाधिवेशन सार्न सहमत भएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताको बैठकले महाधिवेशन सार्ने सहमति जुटाएको हो।
महाधिवेशन सार्ने विषयमा सहमति जुटेपनि अब पुन कहिले गर्ने भन्ने विषयमा भने विवाद कायमै रहेको बैठकमा सहभागी भएका एक नेताले जानकारी दिए।
'महाधिवेशनलगायतका विषयमा छलफल भयो। महाधिवेशन सार्नेमा दुवै पक्ष सहमत देखिएका छन्। तर अब कहिले गर्ने भन्ने विषय भने टुंगो लाग्न बाँकी छ,' उनले भने।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोजमा महाधिवेशन गर्नुपर्ने भनेको छ भने सभापति देउवा पक्षले भने मंसिर अघि महाधिवेशन गर्न नसकिने बताएको थियो।
संस्थापन पक्षले दशैंपछि वडा तहकोअधिवेशन सुरू गरेर मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेको थियो। तर इतर समुहले भदौ २३ पछि पार्टीको वैधानिकता समाप्त हुने भएकाले त्याो भन्दा अघि नै वडा अधिवेशन सुरू गरी असोजमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो।
दुवै पक्ष महाधिवेशन सार्न तयार भएपनि मंसिर वा असोजमा गर्ने भन्ने विषयमा भने सहमति जुटेको छैन। महाधिवेशन सार्न सहमति जुटाएको बैठकले नयाँ मिति टुंगो लगाउन नसकेपछि बिहीबार बस्ने केन्द्रीय समिति बैठकअघि पुन: बसेर सहमति गर्ने भन्दै नेताहरू उठेका थिए।
महाधिवेशनको कार्यतालिकामा सहमति जुटे क्रियाशील विवाद पनि बिहीबार नै मिल्न सक्ने सम्भावना रहेको अर्का एक नेताले बताए। संयुक्त बैठकअघि संस्थापन समूहको बैठकमा देउवाबारे बनेका भिडियोबारे नेताहरूबीच मतभेद रहेको थियो।
महामन्त्री पूर्णबहादुर खड्का र विश्वप्रकाश शर्माले तथ्य तोडमोड गरेर भिडियाो बनाइको र त्यसले राम्रो सन्देश नगएको बताएका थिए। तर, प्रकाशशरण महतले भिडियो राम्रो रहेकाले त्यसमा विरोध आवश्यक नरहेको बताएका थिए। पार्टी भित्रैबाट सामाजिक संजालमार्फत भिडियोबारे असन्तुष्टि जनाइएको भन्दै महत आक्रोशित बनेका थिए।
खड्काले भने देउवा लामो समय देश र पार्टीका लागि काम गरेका व्यक्ति भएकाले भिडियो बनाइरहन आवश्यक नरहेको र राम्रो काम गरे भिडियो अरुले नै बनाइदिने धारणा राखेका थिए। देउवाले भने भिडियो बनाइएकोप्रति अनविज्ञता प्रकट गरेका थिए।
बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डामाथि छलफल गर्न शीर्ष तहका नेताको बैठक बोलाइएको थियो। बैठकमा पूर्वपदाधिकारीलाई समेत बोलाइएको थियो।