सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्नेको संख्यामा सुधार हुन सकेको छैन।जुनसुकै व्यवसाय बिनादर्ता तथा नवीकरण नगरी सञ्चालन गर्न नगरपालिकाले कडाइ गरे पनि नगरभित्रका व्यापार, व्यवसाय दर्ता तथा नवीकरण गर्ने काम सुस्त देखिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए।
उनका अनुसार नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गर्दा दिगो आयस्रोत हुने र यसले राष्ट्रिय राजस्वमा भूमिका खेल्ने भए पनि नगरभित्र व्यापार, व्यवसाय दर्ता तथा नवीकरण सुस्त देखिएको हो।
आर्थिक वर्ष २०७३/७४ देखि हालसम्म २ हजार २ वटा व्यवसाय दर्ता तथा नवीकरण भएकामा चालू आव २०७९/८० को १८ वैशाखसम्म १०२ वटा व्यापार, व्यवसाय दर्ता तथा नवीकरण भएको नगरपालिकाको तथ्यांकले देखाएको छ।
व्यवसाय दर्ता तथा नवीकरणलाई प्रभावकारी बनाउन अहिले नगरले काम गरिरहे पनि व्यापारी यसतर्फ सुस्त देखिएको नगरपालिकाले जनाएको छ। व्यवसाय दर्ताको संख्या बढाउने, करको दायरामा ल्याउने र राजस्व संकलनमा वृद्धि गर्ने योजना नगरपालिकाले बनाएको छ।
तर घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य संघको झन्झटिलो प्रक्रियाका कारण आफूहरुले दर्ता तथा नवीकरणबिनै सञ्चालन गरिरहेको एक व्यापारीले गुनासो गरे।
व्यवसाय दर्ता तथा नवीकरणलाई नगरले आन्तरिक आयस्रोतको रुपमा प्राथमिकतामा राखेको नगरपालिकाको राजस्व शाखाका प्रमुख भोलाप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार चालू आवको १८ वैशाखसम्म १७ लाख ३ हजार २० राजस्व संकलन भएको छ।