शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योगी, व्यवसायीलाई नआत्तिन उद्योगमन्त्री रिजालको आग्रह 

उद्योगी, व्यवसायीलाई नआत्तिन उद्योगमन्त्री रिजालको आग्रह 

उद्योगी, व्यवसायीका समस्या समाधान गर्न राष्ट्र बैंकका गभर्नरसँग छलफल चलिरहेको र बैंकको ब्याज घटाउन सरकारले पहल गरिरहेको उद्योगमन्त्री रिजालको दाबी।
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएकाले तत्कालै नआत्तिन आग्रह गरेका छन्।

National life

शुक्रबार चितवन पुगेको मन्त्री रिजालले पत्रकारसँग कुराकानी गर्दै रुग्ण उद्योग, व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिरहेकाले उद्योगी, व्यवसायीले धैर्य गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘उद्योगी, व्यवसायी आत्तिनुपर्ने अवस्था होइन। अहिलेको समस्या समाधान हुन्छ।’ उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको उनले जानकारी दिए।

कानुनले समाधान गर्ने विषय कानुनबाट समाधान हुने बताउँदै मन्त्री रिजालले भने, ‘उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्ने सरकारले सोचेको छ। सरकारले उद्योगीको हितमा काम गर्छ।’

उनले तरलताका कारण आर्थिक समस्या देखिएको दाबी गरे। उनले भने, ‘यो तरलता कोभिड संक्रमण, युक्रेन–रसियाका युद्धका कारण बढी भएको हो।’

उद्योगी, व्यवसायीका समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको र बैंकको ब्याज घटाउन पनि सरकार लागिपरेको उनको भनाइ छ।

सस्तोमा व्यवसायीलाई जग्गा उपलब्ध गराएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले कार्यक्रम ल्याउन लागेको उनले बताए।

प्रकाशित: May 05, 2023| 15:26 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्