शनिबार, जेठ २, २०८३

हवाई उडानमा प्रतिकूल मौसमको प्रभाव 

लगातारको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं– प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ। ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको हो।

National life

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ।

अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन्। मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ। अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ। 

ट्रंक रुटको उडान सामान्य भइरहेको विमानस्थलका प्रवक्ता सिटौलाले बताए। ‘काठमाडौं विमानस्थलमा आइएफआर उडान भइरहेको छ। अन्तर्राष्ट्रियका केही जहाज होल्डमा हुने सम्भावना छ। आन्तरिकतर्फ उडान डिले भइरहेको छ’, उनले भने।

कोलम्बोबाट काठमाडौं आएको श्रीलंकन एयरलाइन्स र बैंककबाट आएको थाई स्माइलको जहाज केही समय अकासमा होल्ड भएका थिए। आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोसी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। काठमाडौंमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

प्रकाशित: May 04, 2023| 13:32 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्