बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दार्चुला हिमपहिरोमा दुईजना अझै बेपत्ता, शव भारत हुँदै खलंगा ल्याइँदै

दार्चुला हिमपहिरोमा दुईजना अझै बेपत्ता, शव भारत हुँदै खलंगा ल्याइँदै

नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलंगा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।

मंगलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए। कमला र प्रविण आमा छोरा हुन्। 

'पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलंगा पठाउन सकिने अवस्था छैन,' उनले भने। भारतीय सीमा सुरक्षा बल (एसएसबी) सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टले बताए। 'भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौं,' उनले भने। सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ। 

हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन्। 'वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतिक्षामा छौं,' डिएसपी भट्टले भने, 'झण्डै फाँच फिट जती हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ।' सशस्त्र प्रहरी बलको टोलीले मंगलबारदेखि बेपत्ताको खोजी गर्दैआएको छ। खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ। 

मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए। दाउरा खोज्न गएका संकलकको भने ज्यान जोगिएको थियो।

उनीहरु सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो। हाल सो क्षेत्रमा यार्सागुम्बा संकलनलाई जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ। सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौं सर्वसाधारण यार्सागुम्बा संकलनका लागि गएका थिए। जेठ अन्तिम सातासम्म बर्सेनी यार्सागुम्बा संकलन गरिन्छ।

प्रकाशित: May 04, 2023| 12:19 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्