काठमाडौं- आजदेखि मौसममा केही सुधार आउने संकेत देखिएको मौसमविद्ले बताएका छन्।
पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने मौसमविद् रोजन लामिछानेले बताए।
हिजोको भन्दा आज र आजभन्दा भोलि क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। तर, मौसम पूरै सफा हुन भने समय लाग्ने मौसमविद् लामिछानेले बताए।
प्रि-मनसुनमा स्थानीय वायुको प्रभावले समेत वर्षा हुने भएकाले तत्काललाई दिनभरी घाम लाग्ने सम्भावना नरहेको उनको भनाइ छ। विशेषगरी पहाडी क्षेत्रमा बिहान दिउँसो मौसम खुले पनि बेलुकीपख पानी पर्नेछ।
यस्तै, पानी नपरेका केही ठाउँमा पनि दिउँसो पछि मौसम बदली हुनेछ। अहिले कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा पानी परिरहेको छ।
दिउँसो पछि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही र तराईका एक/दुई ठाउँमा पनि पानी पर्ने अनुमान रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।