काठमाडौं- गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिन सुरु गरेको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयंसेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण दिन सुरु गरिएको हो।
गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधिअनुसार र अनिवार्य अवकाश लिनेलाई एकमुष्ट ५० हजार निवृत्तीभरण दिने स्वास्थ्य शाखाप्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिए। उनका अनुसार अनिवार्य अवकाश हुने स्वयंसेविकाहरुले मासिक एक हजार पेन्सन पाउनेछन्।
गाउँपालिकाका विभिन्न वडामा कार्यरत चारजना स्वास्थ्य स्वयंसेविका निवृत्त भएका छन्। स्वेच्छिक अवकाशअन्तर्गत कमला ज्ञवाली, गोमा भण्डारी, विष्णुमाया घिमिरे र भगवती न्यौपाने रहेका छन्। उनीहरुले हालसम्म सेवामा रहेबापत गाउँपालिकाबाट सेवा अवधिअनुसार क्रमशः रु २५ हजार, २५ हजार, १० हजार र २५ हजार प्राप्त गरेका छन्। साथै ६० वर्ष उमेर पुगेका कारण अनिवार्य अवकाश भएकी भागीरथा कँडेलले सङ्घीय सरकारबाट २० हजार र गाउँपालिकाबाट ३० हजार गरी कूल रु ५० हजार प्राप्त गरेका छिन्। उनले अब मासिक एक हजारका दरले प्रोत्साहनस्वरुप पेन्सन पाउनेछिन्।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सञ्चारमा प्रचारका लागि मात्र नभई दीर्घकालीन कामका लागि मात्र नयाँ कार्यक्रम ल्याउन सुझाव दिए। उनले स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने कार्यक्रमको कार्यान्वयन गर्नु छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि भएको बताए।