बैतडी- नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजारक्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ। यहाँको दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी,शाहिलेक र देहीमाण्डौं बजारमा सिसी क्यामरा जडान गरेको हो।
दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए।
मूख्य बजारक्षेत्रमा १८ वटा सिसी क्यामेरा जडान गरेको र अन्य बजार क्षेत्रमा पनि अगामी वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गर्ने लक्ष्य नगपालिकाको रहेको छ।
सीमाक्षेत्र र जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रका मानिसको आवतजावत बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको नगरप्रमुख पुष्करराज जोशीले बताए। सिसीक्यामेराको रिमोट कन्ट्रोल जिल्ला प्रहरी कार्यालयमा रहेको छ।
अपराधिक क्रियाकलाप न्यूनीकरण गरि सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न क्यामेराले सहयोग पुग्ने बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले विश्वास व्यक्त गरे। बजारका सबै गतिविधि जिल्ला प्रहरी कार्यालयमा देखिने गरी क्यामरा राखिएकाले आपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुनेछ। उनले भने, 'प्रहरीले निगरानी गर्ने गरि जडित सिसीक्यामेराले चोरी लगायतका अन्य आपराधिक क्रियाकलाप कम भई बजार क्षेत्र शान्त र सुरक्षित हुने अपेक्षा गरिएको छ।'